आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

मधेसमा उपेन्द्र यादवविरुद्ध मोर्चाबन्दी

बुधबार, ०१ चैत २०७९, ११ : ३४
बुधबार, ०१ चैत २०७९

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ चार दलको साथमा गएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीले अर्को गठबन्धन तयार गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि यी तीन दलको मोर्चा घोषणा भइसकेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले पहिला नै टुङ्गो लगाइसकेका थिए । सोमबार बसेको सत्ता पक्षीय १० दलको बैठकमा उपराष्ट्रपतिको विषयमा पहिला नै टुङ्गो लागिसकेको जानकारी गराइएको थियो ।

त्यसपछि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले आफ्नो छुट्टै उम्मेदवार बनाउने निर्णय गरेका हुन् । उपराष्ट्रपतिको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस केन्द्रित दल लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीमध्ये कसैसँग कुनै छलफल गरेनन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार भागबण्डामा जसपाका अध्यक्ष यादवले उपराष्ट्रपति पाइसकेपछि अन्य दलसँग छलफल तथा सल्लाह गरेनन् । जसपाका अध्यक्ष यादवले लोसपा, जनमत र उन्मुक्ति पार्टीलाई महत्त्व नै नदिएको गुनासो उपाध्यक्ष साहको छ । उनले भने, ‘हामीले हरेक विषयमा जसपासँग छलफल गरेका छौं, जानकारी गराएका छौं तर उसले हामीसँग कुनै समन्वय नै गर्न नचाहने हो भने त्यसको पर्खाइमा बस्न सकिँदैन । जोसँग मुद्दा र विचार मिल्छ ऊसँग मिलेर अगाडि बढ्नेछौं ।’

मधेसको मुद्दा तथा देशकै हितका लागि यो गठबन्धन बनेको दाबी गर्दै उनले उपेन्द्र यादव विरुद्धको मोर्चाबन्दी भने नभएको दाबी गरे ।

२०७९ को तीनै तहको चुनावमा गठबन्धन बनाउनका लागि जनमत र लोसपाले प्रयास गरेका थिए । जसपाले पनि चुनावी गठबन्धनका लागि कार्यदल बनाएको थियो । तर उसले मधेस केन्द्रित कुनै पनि दलसँग छलफल नै गरेन । बरु जनमत र लोसपाले जसपासँग छलफल पनि गरेका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयंले उपेन्द्र यादवलाई भेटेर चुनावी गठबन्धनका लागि प्रस्ताव गरेका थिए । लोसपाका नेताहरुले पनि जसपाका नेताहरुसँग चुनावी तालमेलका लागि छलफल गरेका थिए तर जसपा भने ठूला दलसँग चुनावी तालमेल गर्ने दौडधुपमा थियो ।

यो पछिल्लो गठबन्धन लोसपा र जनमतले जसपालाई सोधखोज नगरी बनाएका हुन् । यो गठबन्धनले जसपाका उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने छैन । प्रतिनिधि सभाको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । लोसपाले पनि उपेन्द्र यादवको विरुद्धमा आफ्नो उम्मेदवार खडा गरेको थियो । उपराष्ट्रपतिको चुनावमा पनि जनमत र लोसपाले जसपाविरुद्ध मोर्चा बनाएर चुनौती दिएका हुन् ।

जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेको खण्डमा बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । उक्त चुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । सो क्षेत्रमा पनि जनमत र लोसपाले जसपालाई साथ नदिने सम्भावना रहेको लोसपाका नेताहरु बताउँछन् ।

लोसपाका एक कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्रजीले समन्वय गर्नुभएन भने यो गठबन्धन हरेक क्षेत्रमा आफ्नै तरिकाले अगाडि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप