सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रज्ञामा ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’

बुधबार, ०१ चैत २०७९, १५ : ५२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तिका अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम भएको हो । पूर्वउपकुलपति डा. जगमान गुरुङले पानसमा दीप बालेर कार्यक्रमको मुद्घाटन गरे । 

उक्त कार्यक्रममा बोल्दै डा. जगमान गुरुङले बाबुराम आचार्यले झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकाले नै उनी महान् भएको उल्लेख गरे । “लामाहरूले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बुले चोमो लुङ्मा– चोमो अग्लो, लुङ ढुङ्गा, अग्लो ढुङ्गा भनेर नामकण गरेका थिए,” गुरुङले भने, “संस्कृत र नेपालीमा त्यसको नाम नभएकाले बाबुरामले सगरमाथा वा झ्यामोलुङ्मा लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गरे ।” यही कारण आचार्यलाई इतिहासशिरोमणिको उपाधि दिइएको उनको तर्क थियो । 

कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. त्रिरत्न मानन्धरले बाबुराम आचार्यको योगदान अतुलनीय रहेको बताए । “कतिपय कृतिहरू बाबुरामका छोरा श्रीकृष्ण आचार्यले पनि सम्पादन गरेर प्रकाशित गरेका छन्,” उनले भने, “तर ती कृतिमा आचार्यले लेखेका तथ्यहरू नै तोडमोड गरेर प्रकाशित गरिएको छ ।”  पुस्तकको अन्त्यमा वा अन्य पुस्तिकामा टिप्पणी गर्न सकिने तर त्यसरी तथ्य तोडमोड गर्न नहुने उनको भनाइ थियो । 

अर्का प्रवचनकर्ता पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको ज्ञान खाली इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको बताए । मान्छेलाई इतिहास, भूगोल, धर्म, संस्कृतिको ज्ञान चाहिने उनले बताए । ‘बाबुरामले सगरमाथाको नामकरण नगर्नुभएको भए विदेशमा गएर नेपाली नाम बताउनै नसक्ने अवस्था थियो,’ उनले भने, ‘विदेशमा रहँदा विदेशीले चिन्ने सगरमाथा, बुद्ध, गोर्खा र शेर्पा भएकाले त्यसको प्रचार पनि गर्नुपर्छ ।’ नेपाल र नेपालीको इतिहास स्पष्ट नहुँदा र त्यसको व्याख्या र प्रचार गर्न नसक्दा विश्वमा भ्रम फैलिरहेको र विदेश जाँदा देशको इतिहासको बारेमा न्यूनतम जानकारी हुनुपर्ने तर्क उनको थियो । 
अर्का प्रवचनकर्ता प्रा.डा. सुरेन्द्र केसीले पञ्चायती कालमा लेख्न नपाइने अवस्थामा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेको उल्लेख गरे । ‘त्यो समयमा पनि प्रशस्त लेख, ग्रन्थहरू लेख्नुभएको छ,’ उनले भने, ‘दरबारले पनि सहयोग गरेकाले उहाँको लेखन अघि बढेको हो ।’ आचार्यले युगान्तकारी रचनाहरू सिर्जना गरी इतिहास लेखनको राजमार्ग बनाएर हस्तान्तरण गरेको जानकारी दिए । 

अर्का वक्ता दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिएको बताए । ‘संशोधन मण्डलले भने उहाँलाई इतिहासशिरोमणि भन्ने गरेका छौँ,’ उनले भने । कार्यक्रमको सभाध्यक्ष सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले गरेकी थिइन् भने प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले गरेका थिए । 
सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपालीलगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप