आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकविरुद्धको आन्दोलन–‘ब्याजदर राजनीति’ गर्दै उद्योगी व्यवसायी

बुधबार, ०१ चैत २०७९, १८ : २५
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । बैंकविरुद्ध निरन्तर आन्दोलनरत व्यवसायीहरु दुई समूहमा विभाजित भएका छन् । पछिल्लो समय बैंक ब्याजदरविरुद्ध देशभरका ९ महासंघ र ५९ वटा संघ मिलेर संयुक्तरुपमा सडक आन्दोलनमा थिए । तर, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि व्यवसायीमा प्रष्ट दुईधार देखिएको हो ।

यसले ब्याजविरुद्ध आन्दोलनरत सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायी आफ्ना पिडा र दुःख पोख्नभन्दा बढी राजनीतिको लक्ष्यसहित आएको पुष्टि गर्छ । देशभरका उद्योगी व्यवसायीहरुले फागुन २८ गतेदेखि माइतीघर मण्डलामा उत्रिएर सडक आन्दोलनको घोषणा गरेका थिए ।

यस्तै, सोमबारदेखि निरन्तर नेपाल राष्ट्र बैंक घेर्दै आइरहेका छन् । आन्दोलनका क्रममा व्यवसायीहरुले बैंक ब्याजदर चर्को भएको, बैंकले मन्दीको समयमा निरन्तर दुःख दिएको लगायतका विषय राख्दै आइरहेका थिए । तर, पछिल्लो समय आन्दोलनमा राजनीतिक रंग देखिन थालेको हो । मंगलबार प्रधानमन्त्रीसँगको छलफलसँगै आन्दोलनमा होमिएका व्यवसायीमा स्पष्ट दुई धार देखिएको छ ।

आन्दोलनमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघतर्फका सम्पूर्ण व्ययवसायीको नेतृत्व दिनेश श्रेष्ठले गर्दै आइरहेका छन् । हिजो मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि व्यवसायीको नेतृत्व श्रेष्ठले नै गरेका थिए । उनले रातोपाटीसँग कुरा गर्दै व्यवसायीको आन्दोलन तत्कालका लागि फिर्ता भएको र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड तयार रहेको बताएका थिए ।

‘मंगलबार साँझ ५ बजेतर्फ प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको थियो । त्यसक्रममा आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ,’ श्रेष्ठ थप्छन्, ‘यहीकारण हामीले बैंकविरुद्धको आन्दोलन रोक्ने निर्णय गरेका छौं ।’ श्रेष्ठले बैंक र ब्याजदरविरुद्ध भइरहेको आन्दोलनमा महासंघकातर्फबाट नेतृत्व गरेका थिए । उनले मोरङका उद्योगी व्यवसायीको नेतृत्व गर्दै आइरहेका थिए ।

तर, आन्दोलन स्थगित भएको घोषणा गरेको २४ घण्टा नबित्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवाले त्यसको खण्डन गरेका छन् । रातोपाटीसँगको कुराकानीमा कटुवालले व्यवसायीले सुरु गरेको बैंकविरुद्धको आन्दोलन नरोकिएको स्पष्ट पारे । ‘नेपाल उद्योग वाणिज्य महासंघका साथिहरुले आफूखुसी प्रधानमन्त्रीसँग छलफल गरेको देखाउँदै आन्दोलन रोकिएको घोषणा गरे,’ कटुवाल भन्छन्, ‘तर, आन्दोलन रोकिएको छैन ।’

महासंघ चुनावी फ्याक्टर

आन्दोलनरत उद्योग व्यवसायीले मंगलबार दिउँसो नेपाल राष्ट्र बैंक घेर्ने कार्यक्रम राखेका थिए । सोमबारदेखि केन्द्रीय बैंक घेर्दै आइरहेको व्यवसायीहरुले मंगलबार पनि केन्द्रीय बैंक घेर्ने कार्यक्रमलाई निरन्तरता दिएका थिए । त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका २ जना उपाध्यक्ष र १ जना पूर्व उपाध्यक्ष समेत आन्दोलन स्थलमा पुगेका थिए । तर, उनीहरुको मूल उद्देश्य ब्याजदर वृद्धिको आन्दोलनमा सहभागिता कम र महासंघको राजनीति ज्यादा थियो ।

महासंघको साधारण सभा र निर्वाचन यही चैत २८ र २९ गते हुँदैछ । उक्त निर्वाचनबाट महासंघले ३ वर्षपछिका लागि अध्यक्ष चुन्नेछ । निर्वाचनमार्फत भावी अध्यक्षको तयारीमा यतिबेला ४ जना आकांक्षी छन् । तीमध्ये हिजोको आन्दोलनमा ३ जना पुगेका थिए । वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेर प्यानल नै सार्वजनिक गरिसकेका अञ्जान श्रेष्ठ समेत आन्दोलनमा पुगेका थिए । यस्तै, वरिष्ठ उपाध्यक्षकै तयारीमा रहेका उमेशलाल श्रेष्ठ र दिनेश  श्रेष्ठ समेत आन्दोलनस्थल पुगेका थिए ।

बैंकविरुद्धको आन्दोलनमा सहभागी व्यवसायीहरुमध्ये धेरैजना महासंघका सदस्य छन् । सदस्यता भएकै आधारमा उनीहरु आउँदो निर्वाचनमा स्वतः मतदाता बन्छन् । चुनावको मुखमा भइरहेको आन्दोलनमा साथ दिन सडक नपुगे चुनावी मतपरिणाम फरक पर्ने हिसाबकिताब देखेसँगै वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका व्यवसायी सडक आन्दोलनमा पुग्ने गरेका छन् । केही समयअघि माइतीघर मण्डलामै भएको बैंकविरुद्धको आन्दोलनमा वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका रामचन्द्र संघाई समेत पुगेका थिए । जबकि, संघाई स्वयं एनआईसी एसिया बैंकका निर्देशक हुन । महासंघको निर्वाचनलाई लक्षित गरेर संघाई बैंकविरुद्धको आन्दोलनमा सहभागी हुन पुगेका थिए ।

राजनीतिक रंग

बैंक ब्याजदरविरुद्ध आन्दोलन गरिरहेका उद्योगी व्यवसायी राजनीतिक दल र नेतृत्वप्रति पक्षपाती देखिएका छन् । अर्थ मन्त्रालयको बागडोर जर्नादन शर्माले सम्हाल्दा राष्ट्र बैंक र अर्थमन्त्रीविरुद्ध नै विभिन्न चरणमा आन्दोलन सुरु गरेका थिए । तर, संघीय चुनावपछि अर्थमन्त्री शर्मा बाहिरिँदै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न विष्णुप्रसाद पौडेल आए । पौडेल आएसँगै उद्योगी व्यवसायीले आन्दोलन स्थगित गर्ने सहमती गरेका थिए ।

तर, सत्ता गठबन्धनबीच खटपट सुरु भएसँगै एमाले सरकारबाट बाहिरिँदा अर्थ मन्त्रालय खाली भयो । यससँगै, पुनः उद्योगी व्यवसायी सडक आन्दोलनमा होमिएका छन् । यसले एमाले सरकारमा हुँदा आन्दोलन स्थगित गरेर व्यवसायमा फर्किने र सरकारबाट एमाले बाहिरिएपछि पुनः सडक आन्दोलन चर्काउने व्यवसायीको आचरण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप