सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बढ्दै छन् मुटुरोगीहरु : गंगालालको आकस्मिक कक्षमा बेडभन्दा दोब्बर बिरामी

बिहीबार, १७ फागुन २०७४, ०८ : ४०
बिहीबार, १७ फागुन २०७४

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको तीन आर्थिक वर्षको प्रगति विवरणलाई नियाल्ने हो भने नेपालमा मुटुरोगीहरुको सङ्ख्या बढ्दो मात्रमा देखिन्छ । यस केन्द्रबाट दैनिक ३ सय देखि ७ सय बिरामीले स्वास्थ्य परिक्षण गर्दै आइरहेका छन् ।

आर्थिक वर्ष २०७१/०७२ मा १ लाख १० हजार विरामीलाई बहिरंग सेवा दिने लक्ष्य राखिए पनि १ लाख १५ हजार ८ सय ६८ जनाले सेवा लिएका थिए । एन्जीयोग्राफी/प्लाष्टी परीक्षण सेवा मार्फत् विभिन्न परिक्षण तथा निदान गर्ने लक्ष्यको आधारमा ५ हजार २ सय ८२ जना बिरामीहरुको क्याथल्याब मार्फत विभिन्न उपचार गरिएको थियो । उपचार गराएकामध्ये ३ हजार २८ जना बिरामीको मुटुको एन्जीयोग्राफी, १ हजार १ सय ६१ जनाको मुटुको एन्जीयो÷प्लाष्टी लगायत विभिन्न जाँचहरु गरिएको थियो । १२ सयको मुटुको शल्यक्रिया गर्ने लक्ष्य भए पनि १ हजार ४ सय ३० जनाको शल्यक्रिया गरिएको थियो । 

यस आ.ब को लागि सरकारले ५७ करोड र स्वास्थ्य करकोषबाट ३० करोड २० लाख र आन्तरीक श्रोतबाट ५७ करोड ९६ लाख बजेट विनियोजन गरेको थियो ।  

आ.व ०७२/०७३ मा १ लाख मुटुरोगीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य सरकारको थियो भने १ लाख २५ हजार ७ सय ५३ जना मुटुरोगीहरुले परिक्षण गराएका थिए । यस्तै यस आ.व मा एक हजार ४ सय ५५ जनालले मुटुको शल्यक्रिया गरिएको थियो । सरकारको लक्ष्य भने एक हजार २ सय जनालाई शल्यक्रिया सेवा दिने रहेको थियो । जसमध्ये पनि एक हजार २ सय ओपनहार्ट सर्जरी, ९२ वटा क्लोज हार्ट सर्जरी र १ सय ४३ वटा अन्य सर्जरीहरु रहेका छन् । आ.ब ०७२/०७३ सरकारको करकोषबाट ४५ करोड ४२ लाख स्वास्थ्य स्रोतबाट ६४ करोड ४८ लाख  गरी जम्मा १ अरब ११ करोड ९० लाख बजेटको व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७३/०७४ मा १ लाख ४७ हजार ४ सय ५ जना बहिरंग सेवा मार्फत सेवा मार्फत मुटुको परिक्षण गरिएको छ । तर सरकारको लक्ष्य भने १ लाख २० हजार मात्रै थियो । लक्ष्य भन्दा २७ हजार बढी बिरामीको सङ्ख्या रहेको छ ।    

राष्ट्रिय हृदय केन्द्र अस्पताललाई एक अर्ब ७५ करोड ४३ लाख बजेटको व्यवस्था गरिएको छ । जसमध्ये नेपाल सरकारको तर्फबाट ७५ करोड ६० लाख र अन्य रकम स्वास्थ्य करकोषबाट विनियोजन गरिएको हो । यो बजेट बाट पनि मुटु सम्बन्धि विभिन्न ८ रोगको उपचार गरिन्छ । 
 


अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्कको आधारमा पनि नेपालमा वर्षेनी मुटुरोगीहरुको सङ्ख्या बढ्दै गएको देखिन्छ । 

अस्पतालले जनाए अनुसार सामान्य चेकजाँच, आकस्मिक कक्षदेखि सबै क्षेत्रमा मुटुरोगीको संङ्ख्या बढ्दै गइरहेको छ । रोग लागे पछि अस्पताल जानुपर्छ भन्नेको सङ्ख्या पनि बढ्दै गइरहेको कारण पनि अस्पताल आउने रोगीको सङ्ख्या बढेको हुनसक्ने अुनमान रहेको छ । 

वेड भन्दा दोब्बर बिरामी सङ्ख्या 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक कक्षको वेड १२ वटा रहेको छ । तर दैनिक ५० भन्दा धेरै बिरामीको उपचार  भइरहेको छ । एउटै वेडमा एकभन्दा धेरै बिरामी राखेर उपचार गरिदै आइरहेको अस्पताल प्रमुख ज्योतीन्द्र शर्माले बताए । उनी भन्छन्, ‘मुटुरोगीको सङ्ख्या बढ्दो मात्रमा छ । देशभरबाट यहाँ बिरामी उपचारको लागि आउनुहुन्छ । एउटै वेडमा एक भन्दा धेरै बिरामी राख्ने हाम्रो रहर होइन बाध्यता हो । यो समस्या अब अस्पतालको नयाँ आकस्मिक कक्ष सञ्चालनमा नआए सम्म रहिरहने छ ।’ 

नयाँ आकस्मिक कक्षको तयारी
पछिल्लो समय मुटुरोगीको अवस्थालाई मध्यनजर गर्दै नयाँ आकस्मिक कक्षको निर्माणको काम भईरहेको डा. शर्माले रातोपाटीलाई बताए । उनी भन्छन्, ‘नयाँ आकस्मिक कक्षमा २६ वटा वेड राखिने छ । यो वेडमा दैनिक एक सय जनाको सहजै रुपमा उपचार गर्न सकिने छ । बिरामी सङ्ख्या अनुसार २६ वेडले  ५ वर्ष सम्म धान्ने उनको अनुमान छ ।’    

हाल यस केन्द्रबाट दैनिक ३ सय देखि ७ सयले स्वास्थ्य परिक्षण गराउँदै आइरहेका छन् । मुटुरोगीको बिरामीलाई उपचार पछि पनि रगत जाँच, इसिजि, एक्सरे जस्ता जाँचहरु गरिराख्नुपर्ने हुन्छ । तर यो सामान्य कामको लागि पनि जिल्ला–जिल्लादेखि बिरामीहरु गंगालालमानै आउने गरेका छन् । 

मुटुरोगीको लागि सरकारको सेवा 
अस्पतालका निर्देशक ज्योतीन्द्र शर्माको अनुसार नेपाल सरकारले मुटुरोगीको लागि राम्रो सहयोग गर्दै आएको बताए । उनी भन्छन् अन्य रोग भन्दा मुटुरोगीहरुको लागि सरकारले अत्यन्तै महत्व दिएको छ । हाल १५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई अस्पतालले निःशुल्क उपचारको लागि छुट्टै बजेटको पनि व्यवस्था गरेको छ । चालु आर्थिक वर्षमा निःशुल्क सेवाको लागि सरकारले १३ करोड रकम विनियोजन गरेको थियो । यस्तै बिना अप्रेशन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि (पि.टि.एम.सि) को लागि १ करोड ७५ लाख रकम विनियोजन गरेको थियो । 

यता आ.ब २०७३/७४ मा फागुन महिना देखि बाथ मुटुरोगीहरुको सम्पूर्ण शल्यक्रिया गर्ने सरकारले निर्णय गरेको थियो । हालसम्म ५ सय ९६ जना बिरामीको निःशुल्क शल्यक्रिया भइसकेको छ । बाथ तथा मुटुरोगीहरुको लागि सरकारको तर्फबाट १५ करोड ९० लाख रकम विनियोजन गरिएको थियो । विपन्न आकस्मिक कक्षमा उपचारको लागि १ करोड,नेपाल सरकारद्वारा घोषित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमको लागि ३१ करोड ६५ लाख चालु आ.ब का लागि विनियोजना गरेको जनाएको छ । 

“विपन्न तथा असहाय” बिरामीहरुको लागि गम्भीर प्रकृतिका मुटुरोगीको उपचारको लागि १ लाख अन्ुदान पनि अस्पतालले दिँदै आइरहेको छ । यस कार्यक्रममार्फत् गत आर्थिक वर्षमा २ हजार २ सय ४४ जनाले उपचार बापत २१ करोड ६८ लाख ७ हजार ७० रुपैयाँ खर्च भएको छ । सरकारले उपलब्ध गराएको राहतका कार्यक्रम देशभरका १० स्वास्थ्य संस्थाबाट गरीब तथा असहाय बिरामीको उपचारमा आर्थिक तथा भौतिक सहयोग भइरहेको जनाएको  छ ।
 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप