मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी तयार भयो संघीय संसद हल (फोटोफिचर)

बिहीबार, १७ फागुन २०७४, ०९ : ३२
बिहीबार, १७ फागुन २०७४

काठमाडौँ । संघीय संसद र  राष्ट्रिय सभाको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत फागुन ८ गते गरेको आह्वानअनुसार आउँदो फागुन २१ गते दिउँसो ४ बजे संघीय संसदको बैठक बस्दैछ । राष्ट्रिय सभा र प्रतिनिधी सभाको बैठक बानेश्वरको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्न लागेको हो । 

सपथका लागि संसद सचिवायको तयारी 

संसद बैठकको दिन नजिकिएसँगै व्यवस्थापिका संसद सचिवालयले तयारी थालेको छ । बुधबार नयाँ बानेश्वरमा सचिवालयले विभिन्न दलसँग पहिलो अधिवेशन र सपथका बारेमा संसदमा रहेका ५ दलका प्रतिनिधीहरुसँग छलफल गरेको थियो । छलफलमा आफ्नो मातृभाषामा सपथ लिनका लागि सूचना दिन सांसदहरुलाई बिहिबार सम्मको समय दिइएको छ ।  

संसद सचिवालयले आगामी आइतबार दिउसो ४ बजे प्रतिनिधिसभा र साँझ ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका बनाएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । यसबारेमा दलका प्रतिनिधीहरुलार्ई जानकारी दिइएको उनले बताए ।  

संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई भोली विहिबारसम्म निवेदन दिन भनेको छ । सचिवालयका अनुसार यतिबेलासम्म ७ जनाले मातृभाषामा सपथ लिने जनाएका छन् । 

यसैबीच सचिवालयले संसदको अन्तरिम कार्यविधि निर्धारणका लागि आँउदो आईतबार सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन गराउने र सरकारले विश्वासको मत लिनेलगायतका कार्यतालिका तय गर्न आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।  

राष्ट्रिय सभा र प्रतिनिधी सभा गरी दुई संसदमा ३ सय ३४ जना सांसद छन् । 

यसरी बस्नेछ पहिलो बैठक 
संसद बैठकको अघिल्लो दिन फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शीतल निवासमा शपथ लिनेछन् । 

प्रतिनिधिसभा सदस्यका लागि दिउसो ४ बजे र राष्ट्रियसभा सदस्यका लागि साँझ ५ बजे पद तथा गोपनीयताको शपथ दिने कार्यतालिका छ । 

दुवै सदनका ज्येष्ठ सदस्यले आफ्नो सभाका सदस्यहरुलाई शपथ दिलाउनेछन् । 

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभामा नेपाली काङ्ग्रेसका ६९ वर्षीया तारादेवी भट्टले सपथ गराँउने छन् । 

उनीहरु सभामुखको चयन नभएसम्मका लागि सभामुखको भूमिकामा रहनेछन् । दलसँग छलफलपछि मात्र संसदको कार्यसूची बनाइने संघीय संसद सचिवालयले जनाएको छ । 

विभिन्न भाषामा सपथ 
संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले उक्त भाषाबारे जानकारी दिने क्रम जारी छ । संघीय संसद्का सदस्य अनिलकुमार झाले हिन्दी, प्रदीप यादव र हरिनारायणप्रसाद रौनियारले भोजपुरी, मोहमद इस्तियाक राईले अवधी तथा शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारु भाषामा शपथ लिने जानकारी गराएका छन् ।

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ । 

दुवै हलको तयारी पूरा 
सचिवालयले दुवै सदनको सभाकक्ष निर्माण, मर्मत र माइक व्यवस्थापनका लागि रु तीन करोड ५० लाख बजेट खर्च गरिरहेको छ । सचिवालयले एक वर्षअघि नै अध्ययन गरी अर्थ मन्त्रालयसँग माग गरेबमोजिम सो रकम निकासा भएको हो । सचिवालयले सिट व्यवस्थापन, माइक प्रणाली व्यवस्थापन, सञ्चार कक्ष, राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षको कक्ष र कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षको व्यवस्थापन गरेको छ । 

राष्ट्रिय सभामा ८० कुर्सीहरु राखिएका छन् भने ३२ माइक राखिएको छ । आवश्यकता अनुसार सिसी टिभी जडान गरिसकिएको छ भने प्रत्यक्ष प्रशारणका लागि ३ वटा क्यामेरा र मास्टर कन्ट्रोल रुमको व्यवस्था गरिएको छ । सांसदहरुका लागि सामान राख्न ५९ वटा कोठा भएको लकर राखिएको छ । सांसदभन्दा पछाडि सिसाको बार राखेर दर्शक र पत्रकार दीर्घा छुट्याइएको छ । राष्ट्रिय सभाको हलको ब्यवस्थापन तयारी पूरा भएको अन्र्तराष्टिय सम्मेलन केन्द्रका इलेक्ट्रिक इन्जिनियर जीवन प्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै प्रतिनिधी सभाका कुर्सी माइक र भुईं मर्मत गरिएको छ । यो सदनमा २ सय ७५ कुुर्सी चाहिनेमा ३ सय ३४ कुर्सी राखिएको छ । दुबै सदनका गरेर ३ सय ८८ सिट राखिएका छन् ।  

दुवै सदन सञ्चालनका लागि सचिवालयसँग हाल ३ सय ५० जनशक्ति कायम रहेको र थप ७५ कर्मचारी पदपूर्तिका क्रममा रहेकाले जनशक्तिको कमी नहुने संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य गरी प्रतिनिधिसभा २ सय ७५ सदस्य रहेका छन् । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो । 

सपथको अन्यौलमा ५ सांसद 

राष्ट्रियसभामा मनोनीत सदस्य डा.युवराज खतिवडा, रामनारायण बिँडारी र डा. विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरुको शपथ नहुने भएको छ । 

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबारे कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरु आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप