सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लामिछानेको ९६औँ जन्मजयन्तीमा पोखरेल र विवश पुरस्कृत

सोमबार, ०६ चैत २०७९, १५ : ००
सोमबार, ०६ चैत २०७९

    
काठमाडौँ । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधवप्रसाद पोखरेल र निबन्धकार ज्ञानेन्द्र विवशलाई क्रमशः नगद ५० हजार र २५ हजार राशिसहित सम्मानित गरिएको छ । नेपाली साहित्यमा लामिछानेको योगदानको स्मरणमा शङ्कर लामिछाने प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी यादव खरेलले उक्त पुरस्कार समर्पण गरेका थिए । 

सो समारोहमा वरिष्ठ  निबन्धकार पोखरेललाई ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार–२०७९’ र निबन्धकार विवशलाई ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार– २०७९ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादव खरेलले अरू साहित्यकारको भन्दा बेग्लै विषयवस्तु र शैलीका कारण शङ्कर लामिछाने विशिष्ट स्रष्टा भएको बताए । 

वरिष्ठ साहित्यकार प्रमोद प्रधानले नेपाली निबन्ध विधामा शङ्कर लामिछानेले बनाएको स्तरीयताको सीमालाई भत्काएर नेपाली निबन्ध अघि बढ्नु नै लामिछानेप्रति सही श्रद्धाञ्जलि हुने बताए ।पुरस्कृत व्यक्तित्व प्राडा माधवप्रसाद पोखरेलले पुरस्कारका लागि धन्यवाद दिँदै सर्जकमा अराजक हुनुपर्ने बताए । उनले भने, “शङ्कर लामिछानेमा अराजकता र प्रस्तुतीकरणको नयाँ शैली थियो । त्यसैले नेपाली निबन्ध विधामा दिएको योगदान अविस्मरणीय भयो ।” 

अर्का पुरस्कृत निबन्धकार ज्ञानेन्द्र विवशले शङ्कर लामिछाने जस्तो विशिष्ट व्यक्तिको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा खुसी व्यक्त गर्दै लामिछानेको निबन्ध आफूलाई सधैँ नयाँ लाग्ने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० बिओटीका अध्यक्ष पदम विश्वकर्मालाई  बिओटीको अध्यक्ष भएकोमा बधाई ज्ञापन तथा मेडलसहित सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई मेडलसहित मायाको चिनो प्रदान गरिएको थियो । 
अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष  राधेश्याम लेकालीले प्रतिष्ठानका आगामी योजनाबारे जानकारी गराएका थिए । उनले निकट भविष्यमै शङ्कर लामिछाने स्मृतिग्रन्थ प्रकाशित हुने जानकारी दिँदै लामिछानेका निबन्धहरूको अङ्ग्रेजी अनुवादको काम पनि भैरहेको बताए । 

यसैगरी शङ्कर लामिछाने प्रतिष्ठानकी कोषाध्यक्ष पद्मावती सिंहले स्वागत मन्तव्य दिइन् भने कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पारेका थिए । 

निबन्धकार श्रीबाबु काकीद्वारा सञ्चालित सो कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, प्राज्ञ प्रदीप बमजन, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाज अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, बुकहिलका भुपेन्द्र खड्का, साहित्यकारहरू प्राडा. गोविन्दमान सिंह कार्की, किशोर पहाडी, युवराज नयाँघरे, विमल भौकाजी, सुशीला देउजा, प्रद्युम्न जोशी, निर्मल पराजुली, यादव भट्टराई, सुमन वर्षा, नीता श्रेष्ठ, मधु पाठक, रमेश दाहाल, मुना बोहरा, सङ्गीता शर्मा, सानुराजा अञ्जान, सुजिता पौड्याल अविरल, बोधराज पौडेललगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप