आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उद्योग

लिट्मसले स्वदेशमै थाल्यो ४ सय केभीए प्रसारण लाइनको ‘कन्डक्टर’ उत्पादन

विद्युतीय तार उत्पादनमा आत्मनिर्भरको लक्ष्य, ४ अर्ब लगानीमा विद्युतीय चुलो उत्पादनको योजना
बुधबार, ०८ चैत २०७९, २३ : ०३
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । लिट्मस इन्डस्ट्रीले नेपालमै पहिलो पटक ४ सय केभीए (किलोभोल्ट) क्षमताको प्रसारण लाइनमा प्रयोग हुने तार (एसीएसआर कन्डक्टर) उत्पादन सुरु गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो ‘विद्युतीय तार’ सप्लायर्स समेत रहेको लिट्मसले स्वदेशमै पहिलो पटक ४ सय केभीए प्रसारण लाइनमा प्रयोग हुने (कन्डक्टर) तार निर्माण सुरु गरेको हो ।

२०३५ सालदेखि विद्युतीय तार उत्पादन थालेको कम्पनी विगत ४५ वर्षसम्म लुम्बिनी विद्युत् कम्पनीको नाममा सञ्चालनमा थियो । गत वर्षदेखि लिट्मस इन्डस्ट्रीको नाममा सुरु भएपछि ४ सय केभीए क्षमताको प्रसारण लाइनमा प्रयोग हुने विद्युतीय तार (कन्डक्टर)को निर्माण नेपालमै सुरु गरेको हो । 

उद्योगले प्राधिकरणबाट ३६ सय किलोमिटर लामो प्रसारण लाइनमा जडान गर्ने कन्डक्टर उत्पादनको ठेक्का पाएको छ । यसमध्ये आगामी वर्षको वैशाखसम्म ९ सय किलोमिटर कन्डक्टर दिइसक्ने लक्ष्यसहित काम अघि बढिरहेको उद्योगले जनाएको छ ।

यसअघि, ४ सय केभीए क्षमताको प्रसारण लाइनमा प्रयोग हुने तार भारतबाट आयात हुन्थ्यो । तर, अब स्वदेशमै ४ सय केभीए क्षमताको प्रसारण लाइनमा प्रयोग हुने तार उत्पादन सुरु भएपछि नेपालको पैसा भारततर्फ जान रोकिने कम्पनीको दाबी छ ।

‘यसअघि ४ सय केभीए प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर भारतबाट आउँथ्यो,’ मिश्रले भने, ‘अब नेपाल उक्त क्षमताको प्रसारण लाइन तार उत्पादनमा पनि आत्मनिर्भर बन्छ ।’

कम्पनीका उपाध्यक्ष सरोज मिश्रले लिट्मसले नेपालमै पहिलो पटक ४ सय केभीए क्षमताको प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर (तार) उत्पादन गरिरहेको बताए । यो कन्डक्टर ढल्केबरदेखि इनरुवा सम्मको प्रसारण लाइनमा जडान हुनेछ । 

लिट्मसले हालसालै निकसँगको सहयकार्यमा १० हजारभन्दा धेरै ट्रान्सफर्मर उत्पादन गरेर प्राधिकरणलाई दिएको छ ।

२०३५ सालदेखि सञ्चालनमा आएको लिट्मस उद्योगमा हाल ५ सय कर्मचारी कार्यरत छन् । यसले घरमा जडान हुने तार, बैंकिङ आईटी, जलविद्युत, मोबाइल फोन लगायतमा प्रयोग हुने तारहरू उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । 

उपाध्यक्ष मिश्रका अनुसार लिट्मस विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो सप्लायर्स हो । र, यसले प्राधिकरणको वार्षिक मागको ७० प्रतिशतसम्म आपूर्ति गर्दै आइरहेको छ ।

यसका साथै, लिट्मस उद्योग नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)को सबैभन्दा ठुलो सप्लायर्स समेत हो । निकले नेपालमै पहिलो पटक ट्रान्सफर्मर उत्पादन सुरु गरेको थियो । 

लिट्मसले हालसालै निकसँगको सहयकार्यमा १० हजारभन्दा धेरै ट्रान्सफर्मर उत्पादन गरेर प्राधिकरणलाई दिएको छ । र, निकले उत्पादन गरेको ट्रान्सफर्मर भुटानमा समेत जाने गरेको छ ।

नेपालकै सबैभन्दा ठुलो विद्युतीय तार उद्योगका रूपमा रहेको लिट्मसले नेपाल र भारतको मापदण्डअनुसार दुवै देशको गुणस्तर चिन्ह लिइसकेको छ । 

उद्योगका उपाध्यक्ष कुश रावलले सरकारले आवश्यक वातावरण बनाइदिएमा विद्युतीय तार उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताउँछन् । 

हाल नेपालमा करिब २४/२५ वटा तार उत्पादन कम्पनी छन् । तीमध्ये सबैले घरायसी प्रयोगमा आउने तार उत्पादनमा जोड दिएका छन् । केहीले भने विद्युत् प्राधिकरणको अवश्यक्ताअनुसार समेत तार उत्पादन गर्दै आइरहेका छन् ।

यति धेरै उद्योगहरू नेपालमा सञ्चालन तथा उत्पादन भइरहेपनि सरकारी वेवास्ताका कारण भारतबाट तार चोरी पैठारी भइरहेको रावल बताउँछन् । नेपाल नै आत्मनिर्भर नजिक रहेपनि सरकारी निकायले नै भारतीय उत्पादनका तार किनेर भवनहरूमा जडान गर्दै आइरहेका छन् । जबकि, नेपालमा सञ्चालित उद्योगहरूले आफ्नो कूल क्षमताको करिब ३० देखि ४० प्रतिशतमा मात्रै उत्पादन गर्दै आइरहेका छन् ।

‘नेपालको बढ्दो बिजुली उत्पादन र बजारलाई लक्षित गरेर हामी थप ४ अर्ब रुपैयाँ लगानी गर्दैछौ,’ रावलले भने, ‘उक्त प्लान्टबाट विद्युतीय चुलो, तारहरू, फास्ट मुभिङ इलेक्ट्रिकल गुड्स अन्तर्गत पर्ने स्वीच, एमसीभी, पंखा, बल्ब लगायतका वस्तुसमेत उत्पादन गर्ने योजना छ । अबको ५ वर्षपछि लिट्मस ब्राण्डमा यी वस्तुहरुको उत्पादन सुरु गरिसक्ने उद्योगको लक्ष्य रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप