सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संरक्षणको पर्खाइमा लिगलिगकोट
फोटोफिचर

संरक्षणको पर्खाइमा लिगलिगकोट

आइतबार, १२ चैत २०७९

गोरखा । समुद्री सतहबाट १४४१ मिटर उचाइमा रहेको लिगलिगकोट एकीकृत नेपालको अवधारणा बीजारोपण भएको स्थान मानिन्छ । गोरखाको बजारबाट केही घण्टाको दुरीमा रहेको लिगलिगकोटमा पहिलाको दरबारका केही अंश मात्रै बाँकी छन् । यहाँ हेर्ने हो भने अझै पनि एकीकरण पूर्व निर्माण गरिएका दरबारका संरचना देखिन्छ ।

स्थानीयको सक्रियतामा यहाँका गढीहरू नामकरण गरिएको भए पनि पहिलाको दरबार कस्तो थियो र कति क्षेत्रफलमा फैलिएको थियो भने यकिन जानकारी भने पाइँदैन । मर्स्याङ्दी नदी तर्फ फर्किएका दुई- ठुलो र मूल गढका पर्खाल र पहिला नै निर्माण गरिएका पथले पहिला दरबार रहेको पुष्टि गरे पनि दरबार कस्तो थियो र के सामाग्रीबाट कसरी निर्माण गरिएका थिए भन्ने विषयमा अध्ययन गर्न पुरातत्त्व विभागले ध्यान दिएको पाइँदैन ।

अहिले डाँडाको टुप्पोमा रहेको गढी वरपर दरबारका भग्नावशेष देख्न सकिन्छ । परापूर्व कालदेखि नै राजा तथा शासकहरूले काली भगवानको पूजा गर्ने गरेको प्रचलन अनुसार नै यहाँ पनि डाँडाको शिरमा कालिका मन्दिर छ जहाँबाट हरेक वर्ष फूलपातीको दिन हनुमानढोकामा रहेको दसैँघरमा पनि फूलपाती ल्याउने गरिन्छ ।

१६ औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे ।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात् नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ । सन् २०१० देखि सुरु भएको उक्त दौड हरेक वर्ष दसैँको समयमा दौडको आयोजना गर्ने गरिन्छ । लिगलिगकोटको प्रचार एवं प्रवर्धन गर्नको लागि सुरु गरिएको लिगलिगकोट दौडमा प्रथम हुनेले अहिले पनि राजाले जस्तै सम्मान पाउने स्थानीयहरू बताउँछन् ।

इतिहासका अलवा लिगलिगकोट क्षेत्र हिमशृङ्खला तथा पर्यावरण अवलोकनको लागि एक उत्कृष्ट गन्तव्य हो । मौसम खुलेको समयमा करिब १५० किलोमिटरसम्म प्रस्ट देख्न सकिने हिमशृङ्खला र पहाडी भूभागले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ । लिगलिगकोट दरबारदेखि चेपे खोला दोभान र फेरी लिगलिगकोट नै फर्किने यो दौड चलिरहँदा मौसम खुलेको समयमा मनासलुदेखि धौलागिरि हिमालसम्म देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया