यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित
आइतबार, १२ चैत २०७९, २१ : ४२
काठमाडौँ । यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो। प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।
एलेना गोचिले ६३ औँ मिनेटमा गोल गर्दै यसपटकको आमन्त्रित टोली रुसलाई अग्रता दिलाइन् । ७५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाइन् । ८३ औँ मिनेटमा पोलिन फिल्सिनाले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरिन् ।
जसअनुसार आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५–० गोलले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।