आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

नक्कली भुटानी शरणार्थीका नाममा करोडौँ असुली !

पूर्व परराष्ट्रमन्त्री सुजाताको सचिवालयमा काम गर्ने दुलालसहित तीन जना पक्राउ
आइतबार, १२ चैत २०७९, २२ : ०२
आइतबार, १२ चैत २०७९

काठमाडौँ । मोरङका केशव दुलाल। उनको परिचय यतिले मात्रै अपुरो हुन्छ। दुलाल पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइराला निकट मानिन्छन्। सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा रहेका थिए। परराष्ट्रमा बस्दा दुलालले नागरिकलाई कसरी शरणार्थीको रूपमा दर्ज गर्न सकिन्छ र उनीहरूबाट कसरी पैसा असुल्न सकिन्छ भनेर सबै विधि प्रक्रिया बुझे। 

शरणार्थीलाई अमेरिका प्रवेशमा सहज हुने देखेपछि दुलालले हुनेखाने सर्वसाधारणलाई अमेरिकी सपना बाँड्न थाले। त्यो पनि भुटानी शरणार्थीको नाममा सबै कागजपत्र बनाएर अमेरिका पठाउन ग्यारेन्टी दिँदै पैसा उठाउन थाले। विगत पाँच वर्षदेखि उनी यही धन्दा चलाउँदै आए। 

दुलाल एक्लैबाट यो धन्दाले पूर्णता नपाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको निष्कर्ष छ। शरणार्थीको परिचय दिने काम गृह मन्त्रालयको हो। दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ इन्द्रजित राईलाई समेत प्रभावमा पारेर शरणार्थीको प्रमाणीकरण पत्र बनाउन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीमा नौ महिना अघि नै भुटानी शरणार्थीका नाममा ठगी हुँदै आएको उजुरी दर्ता भएको थियो। तत्कालीन समयमा राई, उनका छोरा नीरज राई, काठमाडौँका सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारीसहितले शरणार्थीका नाममा अमेरिका पठाउन भन्दै रकम उठाएको सूचना प्रहरीमा पुगेको थियो। तर, शक्तिकेन्द्रको आडमा प्रहरीले राई र उनको परिवारमाथि कुनै ‘एक्सन’ लिन सकेन। 

नौ महिना लामो अनुसन्धानपछि उपत्यका प्रहरी अनुसन्धान कार्यालयले दुलालको कर्तुतबारे केही तथ्य पत्ता लगाएपछि पक्राउ गरेको हो। दुलालसँगै प्रहरीले उनका सहयोगी सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको छ। यो गिरोहले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८१ जनाबाट जनही २५ देखि ३५ लाख सम्म उठाएका छन्। प्रहरीको सम्पर्कमा हालसम्म ८१ जना पुगेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुलालको गिरोहले हालसम्म ५० करोड भन्दा बढी विभिन्न व्यक्तिबाट उठाएका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज कुमार केसीका अनुसार हालसम्म यो गिरोहले ५० करोड रुपैयाँ अमेरिका लैजाने नाममा उठाएको देखिन्छ। उनले भने,‘ प्रहरीमा पीडित भएर आएको सङ्ख्या ८१ जना हुनुहुन्छ, प्रत्येकसँग २५ देखि ५ लाख रुपैया लिएको देखिन्छ। कसैलाई पनि अमेरिका नपठाएपछि उजुरी परेको हो। हामी थप अनुसन्धानमै छौँ।’ 

गृह मन्त्रालयले भुटानी शरणार्थीको भेरिफिकेसन गर्दा नै पैसा असुली गरेको आशङ्का प्रहरीको छ। तर, त्यसमा मन्त्रालयका कर्मचारी संलग्न भए वा मन्त्रालय बाहिरका व्यक्ति परिचालित भए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। 

पूर्व सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै दुलालले झन्डै १ हजार गैर शरणार्थीबाट २५ देखि ४० लाख रुपैयाँसम्म उठाएको आशङ्का छ। नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरू प्रहरीले फेला पारेको छ। दुलाल नेतृत्वको गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको आशङ्का प्रहरीको छ। संगठित गिरोहले दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, झापा, मोरङ, सुनसरी, गोर्खा, कास्कीलगायत जिल्लाका युवाबाट शरणार्थीको नाममा रकम असुली गरेको आशङ्का प्रहरीको छ। प्रहरीमा पनि यिनै जिल्लाका युवाहरूले उजुरी दिएका छन्। 

शरणार्थीका नाममा रकम असुलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। उजुरीमा इन्द्रजित राई र उनका छोरा नीरजलाई ५५ जनाका तर्फबाट ५ करोड ५० लाख रुपैयाँ बुझाएको विवरण देखिन्छ । २०७६ असार २ मा आँगन रेस्टुरेन्ट (थापाथली), साउन २२ मा कुमारी अपार्टमेन्ट (त्रिपुरेश्वर), भदौ ५, २५, असोज ६ र कात्तिक २६ मा हिमालय होटलमा र फागुन २६ मा आँगन रेस्टुरेन्टमा भेटेर इन्द्रजित राईलाई रकम बुझाइएको दाबीसहितको कागजात अख्तियारमा पेस भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप