उपाधिका लागि एपीएफ र कोशी भिड्ने
काठमाडौँ । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो ।
जितपछि कोशीले चार खेलबाट ६ अङ्क बनायो । कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेलमा सुखद नतिजा निकाल्यो । एपिएफले तालिकामा ८ अङ्क बनाउँदै शीर्ष स्थानमा रह्यो । एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो । फाइनल खेल बिहीबार हुनेछ ।