आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी टुंगो लगाउँदै

मङ्गलबार, १४ चैत २०७९, १७ : ४१
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा–२ मा पार्टीको उम्मेदवारको रूपमा अध्यक्ष उपेन्द्र यादवको नाम टुंगो लगाउन लागेको छ ।  यसका लागि बुधबार बारा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्न लागेको हो । सो पार्टीका नेता योगेन्द्रराय यादवले क्षेत्रीय कमिटीले बुधबार आधिकारिक निर्णय गर्न लागेको जानकारी दिए । सोही निर्णयको आधारमा पार्टीको माथिल्लो निकायले आधिकारिकता दिने बताइएको छ । 

बैठकमा यादवको नाममा सर्वसम्मति हुने दाबी गर्दै उनले त्यस अघिसम्म भने बैठकको निर्णयलाई कुर्नुपर्ने बताए ।

जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि बारा क्षेत्र नम्बर २ खाली भएको छ । त्यो क्षेत्रका लागि बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । सप्तरी–२ बाट पराजित भएका यादवले संसदमा प्रवेशकै  रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएका टिप्पणी भइरहेको छ ।

 बारा २ मा यादव उम्मेदवार हुने चर्चापछि पार्टीका अरू कुनै नेताले दाबी गरेको देखिँदैन । बारा २ का लागि यसअघि अन्य नेताहरूले पनि दाबी गरेका थिए । तर यस पटक उपेन्द्र यादवको अगाडि आएपछि कसैले पनि दाबी प्रस्तुत नगरेका हुन् । 

 यादव सत्ता गठबन्धनका साझा उम्मेदवार बन्ने दाउमा छन् । गठबन्धनमा उनले त्यसबारे प्रस्ताव पनि गरेका छन् । तर गठबन्धनले हालसम्म निर्णय भने गरिसकेको छैन । 

गठबन्धनभित्रकै जनमत पार्टी र लोसपाले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेको छन् भने कांग्रेस जिल्ला कार्यसमितिले संविधानसभाका पूर्व सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।

बारा २ मा सबैभन्दा बलियो संगठन काँग्रेसको रहेको छ । त्यसपछि जसपा अनि एमालेको उपस्थिति रहेको छ । यसअघि जसपा–एमाले गठबन्धनबाट रामसहाय यादवले चुनाव जितेका थिए । काँग्रेस, माओवादी केन्द्र गठबन्धनबाट लडेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा दोस्रो भएका थिए । शिवचन्द्र कुशवाहाले फेरि चुनाव लड्ने बताउँदै पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप