आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिभावकिय भूमिमा निर्वाह गर्न गभर्नर अधिकारीलाई सिबिफिनको ज्ञापनपत्र

शुक्रबार, १७ चैत २०७९, १८ : १५
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरुले गभर्नर महाप्रसाद अधिकारीलाई भेटी अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । शुक्रबार अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीलाई पछिल्लो समय विकराल बन्दै गएको वित्तीय संकट र बैंक तथा वित्तीय संस्थामाथिको धरपकलाई लिएर ध्यानाकर्षण गरेको हो । 

ज्ञापनपत्र बुझाउँदै सिबिफिनका प्रतिनिधिहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेको भौतिक आक्रमण र गाली वेइजतिलाई समेत ध्यानमा राखेर समस्या सुधारमा लाग्न आग्रह गरेको छ । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विगत केही समय अघिदेखि बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्ध रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं् गैरकानूनी क्रियाकलाप र सांघातिक आक्रमणहरुको विषयमा गभर्नरको गंभिर ध्यानाकर्षण गराउँदै, नेपालको समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौती, विश्व परिवेश र आर्थिक एवं बैंकिङ सुधारसहित तीव्र आर्थिक गतिविधिमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा संस्थागत सुझावहरु समेटिएको ध्यानाकर्षण पत्र पेश गरेको छ । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत भएकोले बैंक तथा वित्तीय संस्थाहरुमाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा नेपाल राष्ट्र बैंकले अभिभावकिय भूमिमा खेल्नुपर्नेमा विशेष जोड दिए । 

वर्तमान विषम परिस्थितिमा ब्याजदर घट्नु पर्ने विषयमा जोड दिँदै ध्यानाकर्षण पत्रमा उल्लेखित पुँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवा शुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण, स्थानीय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियम सम्बन्धी व्यवस्था, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना, फिन टेक, एसेट म्यानेजमेन्ट एवं लर्निङ एण्ड डेभलपमेन्ट जस्ता सहायक कम्पनीको स्थापना तथा लगानीलगायतका विषयहरुमा दिइएका सुझावहरुको बारेमा ब्रिफिङ गर्दै ती सुझावहरुको उचित सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन समेत अध्यक्ष गोल्यानले गभर्नरसँग विशेष आग्रह गरे ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगत÷संरचनागत सुधारमा जोड दिनुपर्ने बताए । कर्पोरेट क्षेत्रले समेत दीर्घकालिन बोण्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताउँदै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा सुझाव दिए । 

वर्तमान विषम् परिस्थितिलाई मध्यनजर गर्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन सरोकारवाला सम्पूर्ण पक्षहरु गंभिरताका साथ लागि पर्नु पर्नेमा समेत गभर्नर अधिकारीले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप