सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा चार साहित्यकार सम्मानित

शनिबार, १८ चैत २०७९, २१ : ४९
शनिबार, १८ चैत २०७९

कास्की ।  पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित भएका छन् । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको हो । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले चारै श्रष्ठालाई नगदसहित सम्मान गरेका हुन् ।

बाबा साहित्य साधक पुरस्कार विसं २०७८ द्वारा तनहुँका साहित्यकार तथा कवि आनन्दसुन्दर श्रेष्ठ र बाबा साहित्य साधक पुरस्कार २०७९ द्वारा लिली अधिकारी सम्मानित भए । ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७८ द्वारा  म्याग्दीका लोकनाथ भुसाल र ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७९ द्वारा कास्कीका साहित्यकार सावित्री गिरीलाई नगदसहित सम्मान गरिएको छ । 

प्रमुख अतिथि साहित्यकार हरिदेवी कोइरालाले मानिसको जीवन सङ्घर्षपूर्ण भएकाले साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रष्ठाले आफ्नो कलम बन्द गर्न नुहने बताइन् । साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु अझै पनि यो क्षेत्रबाट बाच्न सक्ने अवस्था नरहेकाले सरकारले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिको हितमा कार्यक्रम ल्याउन जोड कोइरालाले दिइन् । 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले राज्यको तर्फबाट साहित्य क्षेत्रलाई बेवास्ता गरिएको बताउँदै कैयौँ साहित्यिक श्रष्ठा बिरामी पर्दा उपचार नपाएर भौतारिनुपरेको गुनासो गरे ।  मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले सफल साहित्यकार बन्नका लागि अध्ययन, लगनशीलता र अनुकूल वातावरण आवश्यक पर्ने बताए ।

सम्मानित व्यक्तित्व आनन्द सुन्दर श्रेष्ठले साहित्यिक क्षेत्रबाट समाजलाई परिवर्तन गर्न निकै कठिन भएको बताउँदै सरकारी क्षेत्रबाट साहित्यिक क्षेत्रका लाग्ने व्यक्तिका लागि सहयोग आवश्यक पर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप