आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'बारा–२ का जनताले उपेन्द्र यादवलाई चुनाव जिताउँछन् '

आइतबार, १९ चैत २०७९, १० : ००
आइतबार, १९ चैत २०७९

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले बारा निर्वाचन क्षेत्र नं २ का जनताले उपेन्द्र यादवलाई आरामले चुनाव जिताएर पठाउने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा यादवले बाराका जनता उपेन्द्र यादवलाई स्वागत गर्न आतुर भएको टिप्पणी गरे। ‘बारा–२ का जनताले धेरै कम्फटेबल अवस्थामा उहाँलाई चुनाव जिताएर पटाउँछन्’ यादवले भने ।

उपेन्द्र यादव गठबन्धनको आवश्यकता भएकाले दलका शीर्ष नेताहरूले नै बारा २ मा चुनाव लड्न आग्रह गरेको यादवको भनाइ छ । ‘संसदभित्र उपेन्द्र यादवको आवश्यकता महसुस भएकाले केन्द्रमा शीर्ष नेताहरूको आग्रहलाई जिल्लाका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीका  नेताहरूले बुझ्नुपर्छ’ यादवले भने ‘संसद भित्र तपाईको आवश्यकता छ तपाई नै बारा २ बाट चुनाव लड्नुपर्‍यो भनेर गठबन्धनले नै आग्रह गरेको हो ।’ 

बारा निर्वाचन क्षेत्र नं २ मा यसअघि जसपाका कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा  भएपछि  सो क्षेत्र रिक्त हुन गएको हो । जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बारा–२ जसपालाई छोड्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दावी गर्नु जायज नभएको बताए । ‘सात वटा प्रदेशमा मधेश प्रदेशमा मात्रै हाम्रो नेतृत्वमा सरकार गठन भएको छ, बारा २ सँग मुख्यमन्त्री साटफेर हुन्छ भन्नु कांग्रेस कार्यकर्ताको भ्रम मात्रै हो’ उनले भने ।

बाराको ४ वटा सङ्घीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम विकसित निर्वाचन क्षेत्र नं २ मानिन्छ । यहाँका मतदाताको जीविकोपार्जनको  मुख्य श्रोत भनेको कृषि  हो । यो निर्वाचन क्षेत्र उद्योगधन्दा, राष्ट्रिय गौरवका आयोजना, पूर्व–पश्चिम राजमार्ग जोडिएको छैन ।

सो निर्वाचन क्षेत्रमा  ५ वटा स्थानीय तह रहेका छन् जसमा  ४३ वटा वडाहरू पर्दछ । जसपा नेपालका मधेस प्रदेश अध्यक्ष यादवले ५ वटा स्थानीय तह मध्ये २ वटा पालिका र १६ वटा वडामा जसपा नेतृत्व गरेकोले अन्य ठाउँमा पनि थोरै मतान्तरले पराजित भएको अवस्था रहेको यादवले बताएका छन् ।  बारा –२ मा जसपाको २५ हजार भन्दा बढी सुरक्षित अवस्थामा रहेको उनले दाबी गरेका छन् । उनले सिके राउतमा राजनीतिक संस्कार नभएकाले उनमा छटपटाहट देखिएको आरोप लगाए । 

 बारा २ मा सिके राउतको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाको उम्मेदवारी निश्चित भएको छ । कुशवाहा यसअघि मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए जसमा उनले रामसहाय यादवसँग झिनो मतले पराजित भएका थिए ।

जसपाले बैशाख १० गते हुने निर्वाचनलाई केन्द्रित गरेर बारा–२ मा  चुनावी गतिविधि सुरु गरेको छ । शनिवार बाराको बरियारपुरमा युवाहरुको क्षेत्रीय भेला आयोजना गरेको थियो भने आज  पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचन क्षेत्रमा आउने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप