आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टरिगाउँ विमानस्थल : धावन मार्ग विस्तारका चार विकल्प

सोमबार, २० चैत २०७९, १० : ०४
सोमबार, २० चैत २०७९

दाङ । २०११ सालमा सञ्चालनमा आएको दाङको टरिगाउँ विमानस्थल नेपालकै पुरानो विमानस्थलमध्ये एक हो, जहाँ ०११ सालपछि तत्कालीन शाही नेपाली वायु सेवा निगमको सानो जहाजले सेवा सुरु गरेको थियो ।

०११ सालदेखि ०४२ सालसम्म यो विमानस्थलमा विमान सेवा नियमित सञ्चालन हुँदै आएको थियो । तर ०४३ देखि ०६० सालसम्म झण्डै १७ वर्ष विमानस्थल बन्द भयो । बन्द विमानस्थल ०६० देखि ०६६ सम्म पुनः सञ्चालन आयो । ०६६ देखि फेरि विमानस्थल बन्द भयो ।

यो विमानस्थलमा ०७१ सालदेखि विमान सेवा नियमित चल्दै आइरहेको छ । यद्यपि धावनमार्ग सानो भएका कारण साना विमानले मात्र यहाँ सेवा प्रदान गर्दै आएका छन् ।

०११ सालमा सेवा आरम्भ गरेको विमानस्थलको ०६६ सालमा ३० मिटर चौडाई र ७ सय ५० मिटर लम्बाईसहितको धावनमार्ग कालोपत्रे भयो । त्यही धावनमार्गमा अहिले सानो जहाजले हप्तामा ६ दिन सेवा सञ्चालन गर्दै आएको छ ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङमा विमान सेवाको दायरा विस्तार गर्न विमानस्थल स्तरोन्नति अपरिहार्य भएको छ । दाङ साबिक राप्ती अञ्चलको ५ जिल्लाको प्रमुख व्यापारिक केन्द्र अर्थात् ट्रान्जिट प्वाइन्ट पनि हो । तर विमानस्थलको स्तरोन्नति अभावका कारण साना विमानले मात्र सेवा सञ्चालन गर्दै आएका छन् भने विमान सेवा महँगोसमेत हुन पुगेको छ ।

नियमित  सेवा र विमानस्थलको स्तरोन्नतिका लागि नेपाल सरकारले पहिलो पटक चार विकल्पसहित योजना अघि बढाएको छ । जस अन्तर्गत चारै विकल्पमा अनुमानित बजेट सहितको गुरुयोजना तय गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम अघि सारेको छ ।

चार विकल्पमध्ये सञ्चालित धावनमार्गको स्तरोन्नति नै प्राथमिकतामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख तथा विमानस्थल निर्माण सहयोग समितिका संयोजक स्यानी चौधरीले प्राधिकरणले विमानस्थलको विस्तृत योजनाको प्रतिवेदनमा विमानस्थलको विस्तारका लागि चार विकल्पसहितको विस्तृत प्रतिवेदन तयार पारेको बताइन् । जसमा ६ देखि १६ अर्बसम्मको लागत योजना तयार गरेको उनको भनाइ छ ।

धावनमार्ग ७५० मिटरबाट १ हजार २५० मिटर लम्बाई बनाउन र ३ सय मिटर चौडा तुल्याउन ६ अर्बको अनुमानित लागत लाग्ने जनाइएको छ । यस्तै १५ सय मिटर लामो धावनमार्ग निर्माण गर्न ९ अर्ब, १९ सय मिटर लामो धावन मार्ग बनाउन १६ अर्ब लाग्ने गरी योजना तयार गरिएको छ ।

टरिगाउँ विमानस्थलका लागि भएकै धावनमार्ग स्तरोन्नति गरी ७५० मिटर बाट १२५० मिटर लम्बाई निर्माणका लागि सिफारिस गरिएको उपप्रमुख चौधरीले बताइन् । दाङमा हाल ट्वनीअटर जहाज चल्दै आइरहे पनि धावनमार्गको स्तरोन्नतिको अभावका कारण अन्य विमानले सेवा आरम्भ गर्न सक्ने अवस्था छैन । जसका कारण प्रादेशिक राजधानी केन्द्र विकासमा समेत प्रभावित बनिरहेकाले तत्काल धावनमार्गको स्तरोन्नतिका लागि योजना बनाइएको उनले बताइन् ।

उनले भनिन्, ‘एक हजार २५० मिटर लामो धावनमार्ग निर्माण भए डोमेष्टिक विमान सञ्चालनमा समस्या हुँदैन । ६ अर्बले जग्गा खरिददेखि निर्माणसम्मको काम सबै पुग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप