आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भुटानी रोनाल्डो मच्छिन्द्रमा आबद्ध

सोमबार, २० चैत २०७९, १९ : १८
सोमबार, २० चैत २०७९

काठमाडौँ । डिफेन्डिङ च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई सोमबार अनुबन्ध गरेको छ । मच्छिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै आधिकारिक रूपमा चेन्चोलाई आगामी चरणका लिगका लागि अनुबन्ध गरेको जनाएको हो । 

मच्छिन्द्र अनुभवी खेलाडीहरु अस्ट्रेलिया प्रस्थान गरेपछि कठिन अवस्थामा रहेको थियो । नेपालमा हुँदै गरेको लिगका लागि  अध्यक्ष सुनिल कपाली र चेन्चोले सम्झौता पत्रमा हस्ताक्षर गरे । क्लबले चेन्चोलाई कति रकममा अनुबन्ध गरेको भन्ने खुलाएको छैन । सम्झौता पछि बोल्दै चेन्चोले नेपालमा चलिरहेको लिगमा अनुबन्ध हुँदै खेल्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि भारतबाट खेलेको र नेपालमा पनि फुटबलको करियरमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

सम्झौतासँगै भुटानी रोनाल्डोको नामले प्रख्यात चेन्चो लिगको छैटौं चरणदेखि मच्छिन्द्रको जर्सीमा देखिने भएका छन् । मच्छिन्द्रले छैटौं चरणको खेलमा बुधवार हिमालयन शेर्पाविरुद्ध खेल्दैछ । प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न नेपाल आएका चेन्चोले प्रतियोगितापछि मच्छिन्द्रको टिमसँग प्रशिक्षण सुरु गरेका थिए र मच्छिन्द्रले सबै प्रक्रिया पूरा गरेर सोमवार सार्वजनिक गरेको हो । 

शुरुवाती दुई खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय भोगेको मच्छिन्द्रले चेन्चोको आगमनपछि लयमा फर्किने विश्वास लिएको छ । पछिल्लो पटकको च्याम्पियन मच्छिन्द्रले पाँच खेल खेल्दा पाँच अंक नै बटुलेको छ ।

उनले भुटानी राजधानी थिम्पुको यिड्जिन फुटबल क्लबबाट सन् २००८ मा करियर सुरु गरेका थिए । चेन्चो २०१५ सम्म घरेलु फुटबलमै व्यस्त रहँदै आएका थिए । त्यसपछि थाइल्याण्डको बुरिराम युनाइटेडसँग आबद्ध हुँदा उनी विदेशी लिग खेल्ने पहिलो भुटानी खेलाडी बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप