मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिल्स क्रिकेट प्रतियोगिता : दिल्ली र काठमाडौँ क्रिकेट क्लब विजयी

सोमबार, २० चैत २०७९, २१ : २२
सोमबार, २० चैत २०७९

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा दिल्ली युनाइटेड क्रिकेट क्लब र ओसिस काठमाडौँ क्रिकेट क्लबले विजय सुरुवात गरेको छ । विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा वीरगन्ज यूथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै  दिल्ली विजयी भई दोस्रो चरणमा प्रवेश गरेको हो ।

दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको वीरगन्जले १२.५ ओभरमा अलआउट भई ९४ रनमात्रै बनायो । वीरगन्जका लागि असीम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए । दिल्लीका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अंकित रोयले ३ विकेट र बैवप पालले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१७ रनको विशाल योगफल खडा गरेको थियो । दिल्लीका रञ्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय इनिङ्स खेले । अभिरुप गुप्ताले ४९ रन बनाए । रोहित त्रिपालीटीले ४९ रनको योगदान दिए । वीरगन्जका रामनरेश गिरी, दीपेश श्रेष्ठ र हरि शंकर साहले समान  २– विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा बजाज यूथ क्रिकेट क्लब सप्तरी ११ लाई ५ विकेटले हराउँदै ओसिस काठमाडौँ क्रिकेट क्लब विजयी भई क्वाटरफाइनलमा पुगेको छ । सप्तरीले दिएको १२९ रनको विजय लक्ष्य काठमाडौँले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौँका सम्राट भुसालले अविजित ३६ रन बनाए । सुजन थपलियाले २४ रन दिए । आदिर खानले १९ रनको योगदान गरे ।

सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय २८ रन बनाएको थियो । अमित यादवले २७ रन बनाए । अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिए । काठमाडौँका गौतम केसीले ३ विकेट लिए । आदिल खानले २ विकेट र सुमित श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच काठमाडौँका गौतम केसी घोषित भए ।

मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब बिहारबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप