सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा अनलाइनमार्फत ठगी गरेको आरोपमा २३ जना पक्राउ

सोमबार, २० चैत २०७९, २२ : ५२
सोमबार, २० चैत २०७९

जनकपुरधाम । धनुषा प्रहरीले अवैध रुपमा विद्युतीय कारोबारमार्फत ठगी गर्दै आएको आरोपमा २३ जनालाई पक्राउ गरेको छ । जनकपुरधाममा विभिन्न एप बनाएर सेवाग्राहीलाई ठगी गर्दै आएको आरोपमा पर्साको पकहा मोहनपुर ५ बस्ने सत्यानन्द राम, धनुषा सबैलाकी सञ्जु साहसहित २३ जनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो ।

उनीहरुले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई हनि ट्रैप जस्ता विभिन्न प्रलोभन दिई नग्न तस्विरहरु बनाएर ब्लैकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतीय कारोबारमार्फत धन्धा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । उक्त गिरोहलाई विभिन्न विद्युतीय उपकरणहरुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुबाट प्रहरीले करिब ३५ वटा डेस्कटप कम्प्यूटर, २० वटाभन्दा बढी एन्ड्रोयड मोबाइललगायतका विद्युतिय उपकरणसमेत बरामद गरेको छ । सो कार्यमा प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवती संलग्न रहेका डीएसपी गौतमले जानकारी दिए ।

दिलाजी आइटी कम्पनी काठमाडौँ– ८ को नाममा जनकपुरधाममा विगत ३ महिनदेखि अवैधरुपमा सो धन्दा सञ्चालनमा आएको प्रहरीको भनाई छ । काठमाडौँमा अवैधरुपमा सञ्चालनमा रहेका विद्युतिय कारोबारीहरुको गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर अवैध धन्धा अगाडि बढाउँदै आएको पाइएको छ ।

 पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप