आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वेथिति

कर्णाली विकास बैंकमा सञ्चालकको मनपरी

नियमविपरीत आफ्नै कम्पनीलाई अध्यक्ष रायले दिलाए १५ करोड ऋण
बिहीबार, २३ चैत २०७९, १२ : ११
बिहीबार, २३ चैत २०७९

दाङ। नेपाल राष्ट्र बैंकको नीति र निर्देशिकाले भन्छ– आफ्नै लगानी रहेको कम्पनीमा आफू सञ्चालक समितिमा रहेको बैंकबाट ऋण प्रवाह गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७९ ले पनि यसबारे बोलेको छ ।

स्वार्थ बाझिने भएका कारण आफू सेयर सदस्य रहेको कम्पनीलाई आफू सञ्चालक रहेको बैंकबाट ऋण प्रवाह गर्न निषेध गरिएको हो । तर यो नियम र निर्देशिकाभन्दा बाहिर छ– बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त संस्था भए पनि नेपाल राष्ट्र बैंकले आवश्यक निगरानी र हस्तक्षेप नगर्दा यो बैंकमा वित्तीय अराजकता बढेको तथ्यहरु रातोपाटीले प्राप्त गरेको छ ।

रातोपाटीलाई प्राप्त तथ्याङ्कमा कर्णाली विकास बैंकका अध्यक्ष रहेका राजेन्द्र वीर राय आफैले आफ्नो कम्पनीलाई अधिकतम सीमा अर्थात् १५ करोडको ऋण प्रवाह गरेको पाइएको छ ।

बाँकेको नेपालगञ्जमा कार्यालय रहेको भनिएको बाँके केमिकल्स नामको कम्पनीलाई कर्णाली विकास बैंकबाट दुई पटक गरी १५ करोड ऋण प्रवाह भएको पाइएको छ । कर्णाली विकास बैंकबाट पहिलो पटक २०७५ असोज ८ गते १२ करोड रुपैयाँ ऋण प्रवाह गरिएको छ भने सोही कम्पनीलाई दोस्रो पटक २०७७ असोज २८ गते ३ करोड गरी कुल १५ करोड रुपैयाँ ऋण लगानी गरेको भेटिएको हो ।

बैंकका अध्यक्ष, सञ्चालक समितिका अन्य सदस्य र बैंकका सीइओ लगायतको मिलेमतोमा स्वार्थ बाझिने गरी नेपाल राष्ट्र बैंकको नीति र निर्देशिका विपरीत अध्यक्ष रायकै लगानी रहेको बाँके केमिकल्समा बैंकले १५ करोड रुपैयाँ लगानी गरेको छ, त्यो पनि दोस्रो पटक थप ३ करोड रुपैयाँ दिएर ।

बाँके केमिकल्सले दुई पटक गरी लिएको कुल १५ करोड ऋणमा २०७९ पुुष महिनासम्ममा कुनै पनि किस्ता तिरेको देखिएको छैन । रातोपाटीलाई प्राप्त कागजातमा बाँके केमिकल्सको नाममा २०७५ असोज ८ गते लिइएको १२ करोड ऋणमध्ये अझै तिर्न बाँकी रकम १२ करोड नै देखिएको छ भने २०७७ असोज २८ गते लिइएको ३ करोड ऋणको पनि सावाँ घटाइएको वा किस्ता तिरिएको देखिएको छैन । यी दुवै कम्पनीले ब्याज भने तिरेको वा नतिरेको केही खुलेको छैन ।

यतिबेला कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारीमा छन् राजेन्द्र वीर राय । सल्यान स्थायी ठेगाना भइ हाल बाँकेको नेपालगञ्जमा बस्दै आएका राय बैंकको सुरुवाती चरणदेखि नै सञ्चालक समितिमा छन् । त्यसैगरी बैंकको सीइओको जिम्मेवारीमा दिनेश कुमार राउत, डेपुटी सीइओमा निरज विक्रम शाह, कर्जा विभागको प्रमुखमा मुकेश गौतम छन् ।

बैंकका अध्यक्ष, सञ्चालक समितिका अन्य सदस्य र बैंकका सीइओ लगायतको मिलेमतोमा स्वार्थ बाझिने गरी नेपाल राष्ट्र बैंकको नीति र निर्देशिका विपरीत अध्यक्ष रायकै लगानी रहेको बाँके केमिकल्समा बैंकले १५ करोड रुपैयाँ लगानी गरेको छ, त्यो पनि दोस्रो पटक थप ३ करोड रुपैयाँ दिएर ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ जेठ १४ गते दर्ता भएको बाँके केमिकल्सको कम्पनी दर्ता नम्बर १९०३२१ हो । उक्त कम्पनीको अधिकृत पुँजी ४ करोड रुपैयाँ राखिएको छ । ४ करोडको अधिकृत पुँजीमध्ये इन्द्र सैनीको नाममा २ करोड रुपैयाँको सेयर छ भने सौरभ सिंहको नाममा एक करोड र कर्णाली विकास बैंकका अध्यक्ष राजेन्द्र वीर रायको नाममा एक करोडको सेयर छ ।

कर्णाली विकास बैंकका अध्यक्ष राजेन्द्र वीर रायसँग यस विषयमा कुराकानी गर्न खोज्दा उनले ‘पछि कुरा गर्छु’ भने पनि पछि सम्पर्कमै आएनन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको मितिभन्दा ठिक ४ महिनापछि नै उक्त कम्पनीलाई कर्णाली विकास बैंकले १२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । त्यसको २ वर्षपछि पुनः सोही कम्पनीको नाममा थप ३ करोड गरी कुल १५ करोड रुपैयाँ ऋण लगानी गरेको पाइएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय तथा अन्य सरकारी निकायमा पेस भएको कागजातमा सेयर सदस्य रहेका राजेन्द्र वीर रायको नागरिकता नम्बर रा.स. २१६, सल्यान रहेको उल्लेख छ । हालको ठेगाना नेपालगञ्ज–२० उल्लेख रहेको उनको विवरणमा बुबाको नाम रुद्र वीर राय उल्लेख छ ।

आफैँ अध्यक्ष रहेको कम्पनीलाई ऋण लगानी गर्न नपाइने र यदि बैंकको सञ्चालक वा पदाधिकारीमा रहनुभन्दा पहिले नै बैंकबाट ऋण लिएको हो भने पनि पदाधिकारी वा सञ्चालक समिति सदस्य रहेको मितिले एक वर्षभित्र ऋण तिरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को नियम २८ मा र नेपाल राष्ट्र बैंकका अन्य निर्देशिकाहरूमा पनि यस विषयमा स्पष्ट पारिएको छ ।

अध्यक्ष रायले कुरै गर्न चाहेनन्

कर्णाली विकास बैंकका अध्यक्ष राजेन्द्र वीर रायसँग यस विषयमा कुराकानी गर्न खोज्दा उनले ‘पछि कुरा गर्छु’ भने पनि पछि सम्पर्कमै आएनन् । यस विषयमा कुराकानी गर्न रायको मोबाइल नम्बर ९८०२५xxxx२२ नम्बरमा ७ पटकसम्म सम्पर्क गर्ने प्रयास गरेको थियो । आइतबार साँझदेखि नै रायसँग कुराकानी गर्ने प्रयास गरिएकामा मंगलबार बिहान रातोपाटीसँग २८ सेकेण्डमात्रै कुराकानी गरेका रायले त्यो विषयमा पछि कुरा गर्छु भने पनि पछि सम्पर्कमै आउन चाहेनन् । त्यसपछि पनि रायको मोबाइलमा पटकपटक सम्पर्क गर्दा रायले फोन उठाएनन् ।

बैंकका अध्यक्ष आफैँ सेयर सदस्य र सञ्चालक रहेको कम्पनीलाई के कति आधार र कारणबाट ऋण दिइएको हो भनी बुझ्न खोज्दा बैंकका सीइओ, दिनेश कुमार राउत, डेपुटी सीइओ निरज विक्रम शाह र कर्जा विभाग प्रमुख मुकेश गौतमले पनि रातोपाटीसँग कुराकानी चाहेनन् ।

राष्ट्र बैंक भन्छ– सञ्चालकले आफ्नो कम्पनीलाई ऋण दिन पाइँदैन

यता नेपाल राष्ट्र बैंकले आफैँ सञ्चालक रहेको बैंकबाट आफू सेयर सदस्य वा सञ्चालक रहेको व्यापारिक फर्म वा कम्पनीलाई ऋण दिन नपाइने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार इजाजतप्राप्त बैंक वा वित्तीय संस्थाले बैंकको सञ्चालक समिति वा पदाधिकारीमा रहेका व्यक्तिको लगानी भएको कम्पनीलाई ऋण लगानी गर्नै नपाइने बताए । उनले भने, ‘कुनै बैंकका सञ्चालक वा पदाधिकारीले आफ्नो सेयर वा लगानी गरेको कम्पनीमा ऋण लगानी गर्न पाउँदैनन्, यदि त्यसो भएको छ भने त्यो गलत हो ।’ यद्यपि त्यस विषयमा ऋण र ऋणीको विवरण नहेरी अहिले नै केही भन्न नसकिने भट्टले बताए ।

यदि कुनै व्यक्ति बैंकको सञ्चालक समितिका सदस्य वा पदाधिकारी रहेको र सोही बैंकबाट आफ्नो लगानी रहेको कम्पनीमा ऋण लगानी गरिएको पाइएमा त्यस्ता इजाजतप्राप्त संस्थालाई जरिवानासहितको कारबाही हुने र सञ्चालकलाई पनि कारबाही गरी जिम्मेवारीबाट मुक्त गराउनेसम्मको कारबाही हुने प्रवक्ता भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप