आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीको स्वनियमन नारामा मात्रै सीमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, २३ चैत २०७९, १८ : २२
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । 

सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए । 

सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निष्कर्ष निकाल्नु पर्ने धारणा राखे । ‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निष्कर्ष निकाल्नु पर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रूपान्तरण गर्नु पर्छ’, प्रधानमन्त्री दाहालले भने । वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको बताउँदै बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने हामी सबैको दायित्व भएको बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महासम्मेलन कोशेढुंगा साबित हुने बताए । 

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् । उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने बिस्तारै सुधारको संकेत देखिएको बताएका हुन् । 

उनले तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नुपर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुनेछ । 

‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ । विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निष्कर्ष निकालिनेछ । सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ’, अध्यक्ष कडेलले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए । गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गलन्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए । सहकारी क्षेत्रले सीमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको उनले बताए । 

‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गरेका थिए ।

आजबाट सुरु भएको महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप