सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

शुक्रबार, २४ चैत २०७९, १८ : ४७
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । ललितपुरे टोली फ्रेण्ड्स क्लबमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने । 

फ्रेण्ड्सबिरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो । यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेपनि असफल भएको थियो । खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ । मनाङले छैठौं खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । अंक बुटल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले शुरुवातबाट नै आक्रामक खेलेका थिए । सो क्रममा ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन । ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ को अग्रता बनाउन सफल भयो । तर खुमलटारको अग्रता धेरै समय टिकेन । ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याएपछि दवबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १/१ अंक बनाए । 

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा झरेको छ । यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप