आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुँजीगत खर्च बढाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँछ : अर्थमन्त्री डा.महत

शुक्रबार, २४ चैत २०७९, १८ : ५३
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने गरी योजना बनाउने बताए । 

मन्त्री डा.महतले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गरिने बताए । आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए ।

सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरू आए पनि धेरै कम गर्न कोसिस गर्छौँ । साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरूमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ’ मन्त्री डा.महतले भने, ‘अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ । पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको छ ।’

यसै अवसरमा अर्थमन्त्री डा.महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन हुन नसकेको बताए । 

अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्था आएको बताए ।

सोही अवसरमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थमन्त्री डा.महतलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने महत्त्वपूर्ण सुझावहरु लिखित रुपमा प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप