आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

शनिबार, २५ चैत २०७९, १२ : ५५
शनिबार, २५ चैत २०७९

भोजपुर । व्यावसायिक बाख्रापालनमा लागेका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् । उनले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । 

उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताए । “तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु । यो व्यावसायबाट राम्रो आम्दानी भइरहेको छ”, उनले भने ।

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ । विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उनले बताए । “ठूलो सपना देखेर विदेश गएँ”, उन्ले भने, “विदेश जानु पहिला यही व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।” 

बाख्रालाई समय–समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । 

“बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ”, राउतले भने, “राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु । तर भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।” उनले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताए । 

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आएका छन् । उनले वार्षिक रू तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताए । “विदेशमा लामो समय बिताए । सोचजस्तो आम्दानी गर्न सकिनँ”, उनले भने, “अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।”

विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । “विदेशमा धेरै नै दुःख छ”, उनले  भने, “यहाँ दुःख गरेको सबैले देख्छन् । परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ ।  विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।” विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उनको भनाइ थियो ।

विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन् । आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समूया हुने गरेको उनीहरुको भनाइ छ । कृषिका क्षेत्रमा राज्यले तालिम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने किसानले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप