सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू लोकार्पण

शनिबार, २५ चैत २०७९, १४ : ३२
शनिबार, २५ चैत २०७९

काठमाडौँ । साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण भएको छ । नेपाली वाङ्मय परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद् तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा उक्त कृति लोकार्पण गरिएको हो । 

नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा संयुक्त आयोजित लोकार्पण कार्यक्रममा समालोचक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षित,अन्वेशक तथा लालीगुराँस नगरपालिका तेह्रथुमका मेयर अर्जुन माबुहाङ, संस्कृतिविद् तथा दर्शनविद डा भक्त राई, वरिष्ठ लेखक राजेश्वर थापा, समालोचक तथा उपप्राध्यापक डा हरिप्रसाद सिलवाल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्ज कुमार राई र मकरध्वज वनेम लगायतको आतिथ्य रहेको थियो ।

कृतिबारे बोल्दै प्रमुख अतिथि बैरागी काइँलाले सुदूर विस्मृतिका बिम्बहरू धेरै अघिका, बिर्सन लागेका कुरा नै विस्मृतिका कुराहरू रहेको र नयाँ पुस्तामा इतिहासको सङ्ग्रहका रूपमा पुस्तक स्थापित रहेको बताए । त्यसतै समालोचक डा हरिप्रसाद सिलवालले उक्त कृतिमा स्मृति र विस्मृतिका बिम्बहरूको द्वन्द्व रहेको बताए। 

यस्तै, कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि वनेमको नयाँ कृतिमा हरेकले आ–आफ्नो बाल्यकाल पाउने र  आजभन्दा करिब ४० वर्ष अघि पूर्वी पहाडमा बाँचेको र भोगिएका कुराहरूले पुस्तक रोचक र पठनीय बनेको बताए । 

लेखक टंक वनेमले पनि जीवनमा सामान्य मान्छेले भोग्ने गरेको घटना मात्रै आफूले भोगेको र उनै भोगाइलाई पुस्तकमा समेटेको बताए । ‘मेरो जीवनमा त्यति ठुला र सम्झना लायक घटना घटेनन् । अरू जस्तै म पनि सामान्य जीवन नै बाँचे । त्यही भोगाइलाई यश पुस्तकमा समेटेको छु ।’ बेलायतमा रहेर कथा, कविता, संस्मरण, मुन्धुम, इतिहास तथा खोज–अ –अनुसन्धानमा कलम चलाउँदै आएका वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ छैटौँ कृति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप