सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

११ बुँदै काठमाडौँ घोषणा पत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन

शनिबार, २५ चैत २०७९, १८ : ५८
शनिबार, २५ चैत २०७९

काठमाडौँ । ११ बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । घोषणा पत्रमा सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिइएको छ । 

त्यसै गरी, वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणा पत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारी मार्फत कृषि पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ । 

विशिष्टीकृत सहकारी संघमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवर्द्धन एवं ठुला कृषि फार्मको स्थापना, कृषि जन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्राण्ड प्रवर्द्धन गर्ने जनाइएको छ । 

त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ । सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्र व्यापी रूपमा  जागरण अभियान सञ्चालन गर्न,  सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवर्द्धनात्मक  व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता सङ्कुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरवीका लागि पहल गरिने घोषणा पत्रमा उल्लेख छ । 

साथै, सहकारीको स्वास्थ्य एवं प्रतिस्पर्धात्मकता क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानको रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाइएको छ । सरकार मातहत रहेका कोषहरू सहकारी बैङ्क मार्फत सहुलियतपूर्णरुपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने बताइएको छ ।    

दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सीमान्तकृत वर्ग बीच सामाजिक समावेशिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने उल्लेख छ ।  सहकारी क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययन अध्यापन गराउन तथा सहकारीमा क्षमतावान् मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायम गर्न सामूहिक पहलकदमी गर्न समेत उल्लेख छ ।

सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको मापन गर्ने प्रणाली विकासका लागि पहलकदमी लिने महासम्मेलनको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप