सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टीकापुर साहित्य महोत्सव : सात विधामा प्रस्तुति

शनिबार, २५ चैत २०७९, २० : ४२
शनिबार, २५ चैत २०७९

धनगढी । कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन आज सात विधामा प्रस्तुति गरिँदै छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रस्तुति रह्यो । 

दोस्रो प्रस्तुति ‘साहित्य किन लेख्ने ? किन पढ्ने ?’ भन्ने विषयमा चल्दै छ । यसमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानीसिंह थारूको प्रस्तुति रहने छ भने यसको सहजीकरण दीपक सापकोटाले गर्नेछन् । तेस्रो प्रस्तुति ‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयमा उमा वादी, उन्नति चौधरी र कल्पना भट्टको रहनेछ । यसको सहजीकरण पत्रकार आरती चटौतले गर्ने टीकापुर साहित्य समाजका सचिव बाबु देवकोटाले जानकारी दिए ।

 यस्तै चौथो प्रस्तुति ‘पाठकको रोजइमा उपन्यास नै किन ?’ विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीको रहने छ । यसको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गर्ने भएका छन् । पाँचौँ प्रस्तुति ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा हुनेछ । यसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका कुरा सुन्न पाइनेछ । यसको सहजीकरण गुरुङ सुशान्तले गर्नेछन् ।

महोत्सवमा छैटौँ प्रस्तुति ‘गद्यकविताको शक्ति’का विषयमा हुनेछ । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाहको रहनेछ । यसमा नवीन अभिलाषीले सहजीकरण गर्नुहुने सचिव देवकोटाले बताए । सातौँ प्रस्तुति घनश्याम खड्काको सहजीकरणमा ‘बाटो बिराएको आजको शिक्षा’बारे हुनेछ । यसमा डा.सञ्जीव उप्रेती र प्रा डा.भारती जोशीको प्रस्तुति रहने छ । साँझ पाँच बजेपछि कार्यक्रम काव्य सन्ध्या आयोजना गरिने छ । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गर्नेछन् । 

कार्यक्रममा ‘हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थीबीच छलफल हुनेछ । साहित्य महोत्सवबाट यस क्षेत्रका विद्यार्थी, शिक्षक, साहित्यकारलगायत उत्साहित बनेका छन् । “यो टीकापुरका लागि ऐतिहासिक कार्यक्रम हो, यसबाट सक्दो लाभ लिनुपर्छ”, स्थानीय समाजसेवी भुवनेश्वर अधिकारीले भने । तीन दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहने समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप