सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

कफिनमा फिर्ता भएकाको बीमा रकममा पनि ठगी : मेनपावर एजेन्ट योजनाकार

एसएसपी भन्छन्–‘तल्लो स्तरको ठगी’
आइतबार, २६ चैत २०७९, २० : ३२
आइतबार, २६ चैत २०७९

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएका धुम्मे सार्की मलेसियामा रोजगारीमा गएको १० वर्ष भयो । उनी नेपालमा आउजाउ गरिरहन्थे । २०७९ वैशाख २६ मा नेपाल आएको बेलामा धुम्मे बिरामी परे । मलेसियन रोजगारदाता कम्पनीको टिकटमा उनी नेपालमा आएका हुन् । नेपाल आएको बेला हृदयाघातका कारण उनले ज्यान गुमाए । 

वैदेशिक रोजगारको सिलसिलामा बिदामा आउँदा मृत्यु हुनेका परिवारले बीमा बापत १३ लाख पाउँछन् । वैदेशिक रोजगार बोर्डले छुट्टै ७ लाख रुपैयाँ दिने व्यवस्था छ । 

तर, धुम्मे सार्कीको घरमा ‘बीमा कम्पनीको कर्मचारी हौँ’ भन्दै पुगेकाहरूले पाउनुपर्ने जत्ति रकम दिएनन् । ठगीमा संलग्न गिरोहले मृतकका परिवारले पाउनुपर्ने रकम मध्येबाट ७ लाख खाइदिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए । 

धुम्मे जस्तै वैदेशिक रोजगारमा रहेर बिदामा आएका र विदेशमा मृत्यु भएर कफिनमा फिर्ता भएकाहरूको परिवारले पाउने बीमा रकममा ‘ठगी’ गर्ने गिरोह सक्रिय रहेको फेला परेको छ । सो गिरोहमा संलग्न मध्येका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसीका अनुसार बीमा कम्पनीका कर्मचारी र वैदेशिक रोजगार बोर्डका कर्मचारीले ठगीमा संलग्नहरूलाई सहयोग गर्ने गरेको भेटिएको छ । 

प्रहरीले वैदेशिक रोजगार बोर्डका पशुपति अधिकारीलाई पनि पक्राउ गरेको छ । ३६ वर्षीय अधिकारी बोर्डको कम्प्युटर अपरेटर हुन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ घर भएका अधिकारीको साथबाट प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका ३९ जनाको विवरण फेला पारेका छ । ‘३९ जना मृतकको विवरण नासुको साथमा भेटिएको छ’ एसएसपी केसी भन्छन्–‘ती ३९ जनाको परिवारले कत्ति बीमा रकम पाएका छन्, भन्नेबारे खोज्दै छौँ ।’

आइतबार सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी पक्राउ परेका छन् । ३० वर्षीय बुढाथोकी र वैदेशिक रोजगार बोर्डका पशुपति अधिकारीको बिचमा सम्पर्क देखिएको अनुसन्धानबाट थाहा भएको छ । 

मेनपावर एजेन्ट ‘योजनाकार’  

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घर भएका ४१ वर्षीय राम बहादुर तामाङलाई प्रहरीले सो ठगीमा संलग्न आरोपमा पक्राउ गरेको छ । कफिनमा फिर्ता हुनेहरूका परिवारले पाउने बीमा रकम ठगी गर्ने समूहका मुख्य योजनाकार राम बहादुर हुन् । ‘राम बहादुर मुख्य योजनाकार हुन्’ अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसी भन्छन्–‘तामाङ म्यानपावर एजेन्ट पनि हुन्, उनकै योजनामा ठगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ 

राम बहादुरको योजनामा ठगेको आरोपमा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–८ घर भएका ३४ वर्षीय विनोद कुमार लामा, ४० वर्षीय डिक बहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान उर्फ रविन, ३५ वर्षीय प्रकाश बहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ३९ वर्षीय रुद्रमान गोले लाई पक्राउ गरेको छ । उनिहरु चैत २३ मा पक्राउ परेका हुन् । 

विदेशमा मृत्यु भएर कफिनमा फर्किने र बिदामा आउँदा मृत्यु भएकाको बीमा बापतको रकम ‘दिलाईदिन्छौ’ भन्दै आरोपीहरू मृतकको परिवारकहाँ पुग्ने गरेका थिए । बिदामा आउँदा मृत्यु हुनेका परिवारले १३ लाख र वैदेशिक रोजगारको सिलसिलामा कार्यस्थलमै मृत्यु हुनेहरूको १४ लाखको बीमा गरिएको हुन्छ ।  मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट ७ लाख पाउँछन् । सो रकम मिलाइदिने भन्दै उनीहरूले बीमा कम्पनीको कर्मचारीको आवरणमा ठगी गरेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी भन्छन्–‘यो तल्लो स्तरको ठगी हो ।’ एकजना मृतकका परिवारलाई ५ लाख दिएर आरोपीहरूले ७ लाख लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

रोजगार पोर्टलबाट पनि चेकजाँच 

जनकपुरको धनुषाधाम नगरपालिका–९ घर भएका उपेन्द्र यादव २०७७ मङ्सिरमा साउदी अरब गए । ७ महिनाअघि मुटु सम्बन्धी उपचार गर्नुपर्ने भएपछि रोजगारदाता कम्पनीले उनलाई टिकट काटेर नेपाल पठाइदियो । साउदी अरब जानुअघि नै यादवको मुटुको समस्या थियो । उपचारको क्रममा उनले ज्यान गुमाए । 

यादवको परिवारले पाउनुपर्ने मध्ये बीमाको ८ लाख रुपैयाँ ठगीमा संलग्नहरूले लिएको थाहा भएको डा. केसीले बताए । वैदेशिक रोजगारीमा जाँदा मृत्यु हुनेहरूको बीमा फेला भएको वा नभएको बारे आरोपीहरूले वैदेशिक रोजगार विभागको पोर्टल चेकजाँच गरेर पनि पत्ता लगाउँथे । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘वैदेशिक रोजगार विभागको पोर्टलबाट पनि उनीहरूले इन्स्युरेन्स फेल भए नभएको पत्ता लगाउने गरेको देखिन्छ ।’ 

पक्राउ परेका ६ जनाको साथबाट ३५ जनाको कागजात प्रहरीले बरामद गरेको छ । वोर्डका नासु पशुपति अधिकारीको साथमा ३९ जनाको कागजात भेटिएको छ । ती परिवारले बीमा बापत कत्ति रकम पाएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप