सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा विरोध प्रदर्शन

आइतबार, २६ चैत २०७९, २१ : ०७
आइतबार, २६ चैत २०७९

टोकियो । जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आईतबार शिन ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन भएको छ । 

‘मुभिङ बियोण्ड हेट’ नामक समूहको आयोजनामा भएको सो विरोध प्रदर्शन अपरान्ह साढे १२ बजे शिन–ओकुबो स्टेशन अगाडि भेला भई कोणसभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै सो समूहका संयोजक टोमी हासेगावाले जापानको इमिग्रेशनले विदेशीहरुमाथि चरम भेदभावजन्य ब्यवहार गर्दै आइरहेको आरोप लगाए । 

उनले भने– ‘हाल जापान सरकारले शरणार्थीहरुलाई देश निकाला गर्न पाउने खालको कानून ल्याउन लागेकोले उक्त प्रावधानको बिरोधमा आवाज बुलन्द गर्दै जापान सरकारको ध्यानाकर्षण गराउन हामी यो बिरोध प्रदर्शन गरिएको हो।’

यसैगरी अर्की अभियान्ता एलिजावेथले आफु जापानमा ३३ वर्षदेखि बस्दै आएकी र विदेशी भएकै कारण रंगको आधारमा धेरैचोटी भेदभावजन्य ब्यवहार सामना गर्नुपरेको बताइन् । जापानमै जन्मेका क्यामरुनी बालिकाद्ववयलाई देखाउँदै एलिजावेथले यी दुई बालिका शरणार्थी भएकै कारण कहींकतै अन्यत्र जान नमिल्ने र उनीहरु शिक्षादिक्षाको नैसर्गिक अधिकारबाट पनि वञ्चित हुनुपरेको बताइन् ।   

tokyo-pradrasan (2)

उनले अर्को एक उदाहरण दिँदै ३ महिना अगाडि इमिग्रेशनमा एकजना इटाली नागरिकले आत्महत्या गरेको बताइन् । ‘जापानी नागरिकसँग विवाहित ती इटाली पुरुषको २ जना बच्चा पनि थिए । जब उनको सम्बन्धबिच्छेद भयो, उनी होमलेश बन्न पुगे, भिसा पनि गुमाए । होमलेश भएकै अवस्थामा प्रहरीले उनलाई हिरासतमा लियो । हिरासतमै रहेको अवस्थामा उनको मृत्यु भयो । जापानी श्रीमती सँगै हुँदा जिन्दगी सबै ठीकठाक चल्दै थियो जब उनी एक्लिए अनि बाँच्न पाउने अधिकार सबै खोसियो, मानवीय संवेदनशीलता जस्तो बिषयमा यो भेदभाव नभएर के हो ?’ उनले प्रतिप्रश्न गरिन् ।       

विरोध सभामा बोल्ने अन्य वक्ताहरुले पनि जापानमा बिदेशीहरुमाथि देखिनेगरी भेदभाव हुने गरेको, शरणार्थीका आवेदकहरुलाई जबरजस्ती देश निकाला गर्ने गरेको भन्दै यसप्रकारका अन्यायपूर्ण ब्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । 
 
जापान सरकारले विभिन्न शीर्षकमा विश्वका विभिन्न देशहरुलाई सहयोग गर्दै आइरहेको भएता पनि विदेशी नागरिकहरुसँग सम्बन्धित आफ्नै देशभित्रका यस्ता मानवीय संवेदना भित्रपर्ने समस्याहरुप्रति भने उदासिन रहँदै आएको उनीहरुले आरोप लगाएका थिए । 

tokyo-pradrasan (1)
 
‘विदेशीमाथि गरिने भेदभावको अन्त्य गर, अन्यायपूर्ण देश निकाला कार्य बन्द गर, हाम्रा आवाजहरुलाई बुलन्द गर्न हामी सबै एक हौं’ जस्ता नाराका साथ विरोध प्रदर्शन सम्पन्न गरिएको थियो । कोणसभा पश्चात शिन्ज्युकु कुरिचु कितासान्मोमिजी पार्कमा पुगेर विरोध र्‍याली समापन गरिएको थियो ।

 उक्त समूहले खासगरी इमिग्रेशनसँग सम्बन्धित भिसा, शरणार्थी प्रकरण लगायतका विषयमा अन्यायमा परेका विदेशीहरुको सहयोगमा आफ्ना गतिविधि गर्दै आइरहेको बताइएको छ । यसअघि पनि विभिन्न समयमा विरोध प्रदर्शन कार्यक्रम गर्दै आइरहेको सो समूहले विदेशीहरुको बाक्लो बस्ती रहेको शिन(ओकुबो स्टेशनलाई यसपटक केन्द्र मानी विरोध प्रदर्शन गरेको थियो ।

सन् २०१९ मा स्थापित ‘मुभिङ बियोण्ड हेट’ समूेहमा धेरजसो जापानीहरु रहेको बताइएको छ । (पत्रकार तिलक मल्लको सहयोगमा तयार पारिएको सामग्री) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप