सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पूर्व घटना : सुन लुट्न दुई नाबालिकाको हत्या

२ जना पक्राउ
सोमबार, २७ चैत २०७९, १८ : ४०
सोमबार, २७ चैत २०७९

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुईजना नाबालिकाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

चैत २३ मा  सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीया रिमा बुढा र ८ वर्षीया काली बुढा मृत भेटिएका थिए ।

उनीहरुको हत्या आरोपमा दुईजना नाबालिकालाई पक्राउ गरिएको रुकुम पूर्वकी डिएसपी अञ्जना श्रेष्ठले रातोपाटीलाई बताइन् । चैत २२ मा बिहान १० बजे तारामान बुढाका छोरीहरु सेराबाङ गएका थिए । तर, राति अबेर सम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । 

स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगञ्जबाट कुकुर सहितको टिम परिचालन गरिएको थियो ।

पक्राउ पर्नेहरु तारामान बुढाको छिमेकीहरु हुन् । नाबालिकाहरुले कानमा लगाएको सुन लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी श्रेष्ठले बताइन् । डिएसपी श्रेष्ठले भनिन्,‘लुटपाटको उद्देश्यले हत्या गरेको देखिन्छ, थप अनुसन्धान गर्दै छौं ।’

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार नाबालिकाको घाँटी थिचेको र ढुंगाले हानेको चोट देखिएको छ । हत्यापछि घिसारेर भिरबाट खसालेको भेटिएको छ ।

आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप