आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

किसानले गहुँ भित्र्याएसँगै व्यापारीले घटाए मूल्य

मङ्गलबार, २८ चैत २०७९, १२ : ३०
मङ्गलबार, २८ चैत २०७९

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका भोजराज चौधरी चैत २३ गते प्रतिक्विन्टल ४ हजार रुपैयाँका दरले स्थानीय गल्ला व्यापारीलाई गहुँ बिक्री गरे । भोजराजले बिक्री गर्दासम्म अन्य कृषकहरू गहुँ थ्रेसिङमा व्यस्त थिए ।

चैत २४ यता भने व्यापारीले एकाएक गहुँको भाउ (मूल्य) घटाए । थ्रेसिङ गरिसकेका किसानले गहुँ बिक्री गर्न खोज्दा मुस्किलले प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँ पाए ।

जिल्लाको बर्दगोरियाका स्थानीय कृषक वीर चौधरीले दुई दिनको अवधिमा गहुँको भाउ निकै घटाइँदा आफूहरूलाई निकै मर्का भएको दुखेसो सुनाए । उनले भने, ‘किसानको पीडा कहिले बुझ्छ र सरकारले ! किसानको गहुँ नभित्रिँदासम्म ४२ सयमा बिक्री हुने, जब किसानको गहुँ भित्रियो, भाउ घटाएर ३६ सयमा झारिन्छ !’

बर्दगोरियाकै अर्का किसान नवीन जोशीले किसानप्रति राज्यको उदासीनताका कारण किसानले घाटामा खेतीपाती गर्दै आएको सुनाए । उनले भने, ‘डिजल महँगो, मल महँगो, जोताइ महँगो, लेबर लगाउँदा ज्याला महँगो, सिँचाइ गर्दा पानी महँगो, झारपात मार्ने विषादी महँगो, गरिब किसानले लिने ऋण महँगो, किनेर खानेले किन्दा गहुँ महँगो । तर किसानले आफ्नो गहुँ बेच्नु पर्दा २ दिनअघि ४३ सय र २ दिनपछिको रेट ३५ सयमा झरिसकेछ । दलालहरू मिलेर किसान मार्ने भए ।’

gahu thresing (1)

जिल्लामै गल्ला व्यापारीले गहुँ फरक–फरक दर रेटमा खरिद गर्दै आएका छन् । किसानको गहुँ गल्लामा आउन थालेपछि खरिददर घटाउँदा किसानहरू मारमा परेका हुन् । तर सरकारले नै सस्तो मूल्यलाई नै समर्थन मूल्य तोकिदिँदा गल्ला व्यापारीहरूलाई बल पुगेको छ । उनीहरूले सरकारले निर्धारण गरेको दररेट भन्दा महँगोमा गहुँ खरिद गर्दै आएको बताएका छन् ।

सरकारले प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म गहुँ खरिदको सुरसारसम्म गर्न सकेको छैन ।

जिल्ला दर रेट निर्धारण समितिका संयोजक समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले खाद्य व्यापार तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढी गहुँ खरिदको तयारीमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप