आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो–अध्यक्ष ओली

मङ्गलबार, २८ चैत २०७९, १९ : ०१
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन् । 

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग मंगलबार आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उनले भने, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राखे । उनले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गरे ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । 

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उनीसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप