आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको नियुक्ति चाँडो नभए आन्दोलनको चेतावनी

बुधबार, २९ चैत २०७९, १५ : ०४
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशको नियुक्ति चाँडो गर्न माग गरेका छन् । न्यायपालिका नेतृत्वविहीन भएको एक वर्ष पुगेको बताउँदै अध्यक्ष घिमिरेले स्थायी प्रधानन्यायाधीश दिन माग गरेका हुन् । 

नेपाल बार एसोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले भने, ‘पूर्ण प्रधानन्यायाधीश नहुँदा कार्यपालिकाले हेयको दृष्टिकोणले हेरेको हाम्रो बुझाई हो । न्यायपालिकामाथि निरन्तर प्रहार भइरहेको छ, त्यसलाई हामी हेरेर बस्न सक्दैनौँ ।’ उनले न्यायाधीश नियुक्तिमा कसैले चासो नदिएको भन्दै गुनासो गरे । यसबारे प्रधानमन्त्रीसँग भेटेर आफ्ना मागहरू सुनाउने उनको भनाई थियो । ‘भोलि बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्दै छौँ । न्यायाधीश नियुक्तिको मापदण्डमा हाम्रो असहमति छ ।’ 

घिमिरेले सभामुखसँग भेटेर संसदीय सुनुवाइ समिति गठन गर्न माग गरेको पनि सुनाए । त्यस्तै गत चैत १४ गते पूर्ण स्वचालित पेशी व्यवस्थापनबारे कामु प्रधानन्यायाधीशलाई भेटेर भनेको पनि उनले जानकारी दिए । यसबारे ७(१० दिनमा पनि पहल सुरु नभए आन्दोलनको अभियान सुरु गर्ने उनले चेतावनीसमेत दिए ।

उनले भने, ‘हामी अब लगभग आन्दोलनको श्रेणीमा पुगेका छौँ । हामी ७ देखि १० दिन हेर्छौैं । अब यदि ७ देखि १० दिनको बीचमा समस्या समाधान भएन भने, यसमा कुनै जागरूकता देखाइएन भने, सर्वोच्च अदालतलाई पनि भन्न चाहन्छु, फुल्ली अटोमेटेड सिस्टम, अटोमेशन लागू गरेर पेशी व्यवस्थापन गर्नेतर्फ ध्यान गएन भने नेपाल बार एसोसिएसनले उचित निर्णय लिन्छ । हाम्रो आजको मूल मुद्दा भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सम्बन्धमा हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीश यदि स्थायी हुन सकेन भने यो कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालत लगायत न्यायालयलाई हेपेको अवस्था हो भन्ने बुझ्छौँ । नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीश तत्काल प्राप्त गर्नुपर्छ भन्ने हाम्रो प्रथम माग हो । न्यायपालिकाको विकृति, विसङ्गति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त चाहियो, न्यायालय बिचौलिया मुक्त भएकी भएनन्, त्यसको चासो हामीलाई छ, त्यसको जवाफ हामीलाई कतैबाट पाइएन । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश उपरको महाअभियोगको प्रस्तावमा संसद्ले केही बोल्नु नपर्ने, नेपालमा व्यवस्थापिका, राजनीतिक पार्टी, कार्यपालिका छैन ।’

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले कानुन बमोजिम अविलम्ब  प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे ।उनले भने, ‘कामु प्रधानन्यायाधीशको भरमा अहिले सर्वोच्च अदालत चलेको छ । अहिले एक वर्षभन्दा बढी भइसक्यो । यो अविलम्ब कानुन बमोजिम नियुक्ति हुनुपर्छ । यो नियुक्ति नहुनु भनेको सम्पूर्ण न्यायपालिकाको लागि शुभलक्षण होइन । यसमा नेपाल सरकारले पूरा ध्यान दिओस् । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुनुपर्छ ।’ उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको टुंगो चाँडो लगाउन पनि माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप