मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस

बिहीबार, ३० चैत २०७९, १० : ४७
बिहीबार, ३० चैत २०७९

कास्की । वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले नयाँ वर्ष २०८० को दिन कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा ‘भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस’ हुने भएको छ ।

‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ को नारासहित भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस हुने र  सबैलाई साइकल चढ्न अभिप्रेरित गर्ने आयोजक संस्थाले बताएको छ । उक्त कार्यक्रमले माछापुच्छ्रे गाउँपालिकाको प्राकृतिक तथा पर्वतीय पर्यटनको प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास आयोजक ग्रीनफोर्स युवा क्लबले लिएको छ । 

माउण्टेन बाइक रेससहित महिला भलिबल, पुरुष भलिबल, छेलो प्रतियोगिता, लोक दोहोरी कार्यक्रम लगायत आयोजना हुने क्लबले बताएको छ । यस प्रकारका कार्यक्रमले उक्त क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष गणेश आचार्यले बताए ।

बाइक रेसका विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तृतीयले रु १० हजार र सान्त्वनाले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने क्लबका कोषाध्यक्ष तथा मेलाका अर्थ संयोजक राजेन्द्र आचार्यले बताए । 

पोखरा महानगरपालिका-१९ लामाचौरबाट सुरु हुने दौड भुर्जुङखोला, चौर, तातोपानी, धिप्राङ टुसे, घाचोक, लाहाचोक, खोराकोमुखबाट फर्किएर पुरुनचौरको भारतीभवन विद्यालय हुँदै भुर्जुङखोला पुगेर समापन हुनेछ । पर्वतीय साइकल दौडले माछापुच्छ्रे गाउँपालिकाका आठ वटा वडा र ५० किमी दुरी तय गर्नेछ। 

पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा पुरुष भलिबलको विजेताले रु ९९ हजार नौ सय ९९, द्वितीयले रु ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् ।

१५ बर्ष पहिला स्थापिक ग्रीन फोर्स युवा क्लबले यसअघि पनि जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न नमूना कार्यक्रमका रूपमा पीपल प्रवर्द्धन कार्यक्रम गरेको थियो ।
 
मेलाको अर्थ संयोजक राजेन्द्र आचार्यले बताए अनुसार देशविदेशमा रहेका स्थानिय व्यक्तिहरुले मेलाका लागि राम्रो आर्थिक सहयोग गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप