सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फोस्वाल साहित्य महोत्सव नयाँ दिल्लीमा सम्पन्न

बिहीबार, ३० चैत २०७९, १५ : ३८
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । कोरोना महामारी पश्चात् सार्क देशका साहित्यकार तथा  संस्कृतिविदहरुको मिलन फोस्वाल साहित्य महोत्सव सम्पन्न भएको छ ।

सार्क देशहरूका लेखकहरूको सङ्गठन “फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर” (फोस्वाल) को आयोजनामा तीन दिने फोस्वाल साहित्य ६३ औं सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।  

सम्मेलनमा भारत, नेपाल, श्रीलङ्का, भुटान र बाङ्गलादेशका साथै बिम्स्टेकका सदस्य देश थाइल्यान्ड, बर्मा र कम्बोडियाका लेखकहरू सामेल भएका थिए । कार्यक्रममा भारतको आघा खान प्रतिष्ठानका अध्यक्ष नेसर मुन्जीको प्रमुख आतिथ्यता तथा प्रसिद्ध इतिहासविद् तथा चिन्तक आशीष नन्दी प्रमुख वक्ताका रुपमा रहेका थिए ।

समारोहमा बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानलाई उनका तीन पुस्तकका लागि मरणोपरान्त फोस्वाल लेखक सम्मान प्रदान गरिएको छ । यसै गरी नेपालका भीष्म उप्रेती, भुटानका डा. कुन्जाङ छोदेन र डा. रिन्जिन रिन्जिन, भारतका आलोक भल्ल, श्रीलङ्काकी कञ्चना प्रियकण्ठा तथा श्रीलङ्काकै कौशल्या कुमारसिङ्घेलाई “फोसबाल साहित्य पुरस्कार” प्रदान गरिएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा नेपाली अध्येताहरू डा. रामदयाल राकेश, डा. एकप्रसाद दुवाडी. रूपसिंह भण्डारी र महेश पौड्यालले कार्यपत्र प्रस्तुत गरे भने कविहरू गोपाल पराजुली, विधान आचार्य, भीष्म उप्रेती, सुमन पोखरेल, रञ्जना निरौला, नाज सिंह तथा रूपसिंह भण्डारीले कविता वाचन गरेका थिए ।

सार्कका पाँच राष्ट्रसहित ८ देशका सर्जक र अध्येताहरूको प्रस्तुति रहेको थियो कार्यक्रममा वाचित रचना र प्रस्तुत कार्यपत्रहरूमा लैङ्गिक समानता, वातावरणीय सजगता र लोकसाहित्यको महत्त्वमाथि विशेष जोड दिइएको थियो ।

सार्क साहित्य सम्मेलन भनिँदै आएको यस कार्यक्रममा पाकिस्तानी र अफ्घानी लेखकलाई भाग लिन असहज हुन थालेपछि यसलाई यस वर्षदेखि फोस्वाल साहित्य सम्मेलन भन्न थालिएको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप