मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऋचा मेमोरियल क्रिकेट : नेपाल पुलिस र एनबीएससीको पहिलो जित

बिहीबार, ३० चैत २०७९, १९ : २९
बिहीबार, ३० चैत २०७९

विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

पहिलो खेलमा पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भई २ अंक जोड्न सफल भएको हो ।

लिगको आधारमा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्‍यो । 

पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले  १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए । दिलीप नाथले ७ बलमा १० रन बनाए ।

बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए । यसअघि दिल्लीले १५ दशमलप ५ बलमा सबै विकेट गुमाई ८७ रनमा समेटियो । सकिट केडियाले  २२ बलमा २९ रन बनाए ।  उनले २ छक्का र ४ चोक्का हिर्काए । प्रदिप कुमारले १३ बलमा १९ रन पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक  छुन  सकेनन् । 

पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रामक बलिङ गर्दै ३. ५ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा सुदूरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी विजयी भई २ अंक जोड्यो । 

२२२ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सीमित भयो । सुदूरपश्चिमका दिपक बोहोराले  ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका हिर्काए । नरेशले  ३ छक्का र २ चौका हिर्काउँदै  २७ पारी खेल्दा हेमन्त धामीले २२ रनको योगदान दिए । 

बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए । यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीको पहिलो जितमा राहुल चौधरी र शतिस कुमारले  बिस्फोट ब्याटिङ गरे ।  

म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ७३ रनको अर्धशतकीय ईङनिङ खेले  । सतिशले ३३ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका हिर्काए । 

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।  ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए । शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबिच हुनेछ । दोस्रो नेपाल पुलिस र एनबी गु्रपु सुदूरपश्चिमबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप