सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

कक्षा १० मा पढ्ने छात्रालाई धादिङबाट भारतमा लगेर बेच्ने गिरोह पुर्पक्षमा

किशोरी बेच्नेहरु भन्थे–‘भारतमा बाबासँग भेटेपछि पैसा बर्सिन्छ’
शुक्रबार, ०१ वैशाख २०८०, १७ : २०
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिको एउटा विद्यालयमा कक्षा १० मा पढ्थिन् किर्तिका (नाम परिवर्तन । २०७९ मंसिरमा उनलाई धादिङ घर भएको गिरोहले भारत लगेर बेचेको थियो । ‘किन इन्डीया’ नामक संस्थाको सहयोगमा मानव बेचबिखन ब्यूरोले किशोरीलाई माघ १७ मा दिल्लीबाट उद्धार गरेर नेपाल ल्याएको छ ।

बेचबिखनमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । धादिङका एसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा बलराम अधिकारी भन्ने रुपेन्द्र अधिकारी, गीता न्यौपाने, कमला परियार, बविता बानियाँ आचार्य, कल्पना आलेमगर र सोनिका नेपाली छन् । 

आरोपीहरुलाई चैत २१ मा धादिङका जिल्ला न्यायाधीश स्वीकृति पराजुलीले थुनामा पठाउन आदेश गरेका छन् । जिल्ला अदालतको आदेशले ७ जनालाई जेल चलान गरिएको एसपी मिश्रले बताए । बेचबिखनमा संलग्न दाङको घोराही घर भएकी शारदा गिरी फरार छिन् ।

‘आरोपीहरुलाई मानब बेचबिखन तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरेका थियौं’ एसपी मिश्र भन्छन्–उनीहरूले संगठित रुपमा मलेखु हुँदै बुटवलबाट भारत लगेको अनुसन्धानबाट थाहा भएको छ ।’

कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरीलाई आरोपीहरुले शरीरको नापजाँच लिएर भारतमा गएर बाबासँग भेट्ने र त्यहाँ पूजा गर्नुपर्ने बताएका थिए । भारतीय बाबासँग पूजा गर्दा त्यहाँ पैसाको वर्षा हुने भन्दै उनीहरुले किशोरीलाई फकाएर दिल्ली लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘बाबा’को अनैतिक प्रस्ताव

भारत स्थित मण्डि काजुङ्गी भन्ने ठाउँमा लगेर मानव तस्करको समूहले किशोरीलाई बाबासँग भेट गराए । त्रिपुरा गाउँपालिका–३ घर भएकी सोनिकाले ती किशोरीलाई भारतमा धेरै पैसा कमाई हुने सपना देखाएकी थिइन् ।

भारतमा पुगेपछी धर्मगुरु ‘बाबा’ सँग पूजा गर्नुपर्ने भनिएपनि ती बाबाले यौन सम्पर्कको प्रस्ताव राखेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् । बेच्न लानुअघि आरोपीहरुले धादिङमा ती किशोरीको उचाइ र छातीको नाप लिएका थिए । सोनिका र त्रिपुरा गाउँपालिकाकै स्थानीय गीता न्यौपानेले शरीरको नाप लिएर सो विवरण काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ बस्ने कविता बानियाँलाई पठाएका थिए । 

सो विवरण सोलुखुम्बु घर भएर गोंगबुमा बस्ने ३५ वर्षीया कमला परियारले ह्वाट्स एप मार्फत भारतीय नागरिक दुर्गा पुरीलाई पठाएको अनुसन्धानबाट थाहा भएको छ । दुर्गा पुरीले ‘ल्याउनु’ भनेपछि गीता न्यौपानले ती किशोरीलाई मंसिर १५ मा धादिङबाट काठमाडौँ ल्याएकी थिइन् ।

२०७९ मंसिर १७ मा आरोपीहरुले भारततर्फ लगेका थिए । बेचबिखन आरोपमा पक्राउ परेकी कल्पना आलेमगर धादिङ सदरमुकाम निलकण्ठ नागपालिका–३ स्थित होटल संचालिक हुन । 

कल्पना, त्रिपुरा सुन्दरी गाउँपालिकाका स्थानीय कपिल दमाई र गीता न्यौपानेले मलेखु बजारमा लगेर अर्को समूहलाई भेट्टाएका थिए । मलेखुमा लगेर उनीहरूले कविता बानियाँ, कमला नेपाली र आरती शर्मासँग पीडित किशोरीलाई भेट गराएका हुन् ।  

मंसिर १८ मा आरोपीहरुले पीडित किशोरीलाई नाका पार गराएको अनुसन्धानबाट थाहा भएको छ । ‘बाबासँग पुजाआजा र शारीरिक सम्पर्क गर्दा पैसा आफैं बर्सिन्छ’ भनेर उनीहरूले पीडितलाई मानसिक रुपमा तयार बनाएको अनुसन्धानबाट थाहा भएको छ ।

धादिङका एसपी मिश्र भन्छन्–‘त्यसरी बर्सिने पैसा बाँडेर लिने भन्दै आरोपीहरुले किशोरीलाई फकाएको थाहा भएको छ ।’ बेच्न लगेको बेला किशोरीको रजस्वला हुने दिनबारे सोधेर उनीहरुले पिरियडा रोक्ने औषधी खान लगाएका थिए ।

दोस्रो घटनाको खुल्यो पोल

गीता न्यौपाने, कमला नेपाली र कविता बानियाँले बयानमा अर्को घटनामा पनि आफूहरू संलग्न रहेको बयान दिएका छन् । दाङ घर भएकी शारदा गिरी सहितको समूहले २०७९ असोजमा खोटाङकी १९ वर्षीया किशोरीलाई भारतमा बेच्न लगेका थिए । ती किशोरीको हातमा ट्टयाटु देखेपछि बाबाले फिर्ता गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् ।

बेचबिखनमा संलग्न मध्येकी आरती शर्मा फरार छिन् । बेचबिखनमा ९ जना भारतीय नागरिक संलग्न देखिएका छन् । तर, उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप