मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियर कपका लागि नेपालको टोली घोषणा

आइतबार, ०३ वैशाख २०८०, १६ : ४२
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । मंगलबारबाट नेपालमा आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ ।  

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछन् । जसमा मुलपानी क्रिकेट मैदान पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छनोट हुनेछ । यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा नेपालले वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।  खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यसैगरी नेपालले वैशाख ८ मा ओमान, ११ गते साउदी अरेबिया र र १४ गते कतारको सामना गर्नेछ ।

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी ,सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, गुल्सन झा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप