सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लघुवित्तको रकम हिनामिना गरेको आरोपमा दुई कर्मचारी पक्राउ

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : ४४
मङ्गलबार, ०५ वैशाख २०८०

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा रहेको साधना लुघुवित्त वित्तीय संस्थामा कार्यरत दुई महिलालाई ठगी तथा रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कालिगण्डकी गाउँपालिका–४ की २२ वर्षीया मुना गाहा मगर र ३० वर्षीय कुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै उक्त संस्थाका सहजकर्ता कर्मचारी थिए ।

उनीहरुमाथि संस्थाका दुई सयभन्दा बढी सदस्यबाट उठाएको रकम संस्थालाई नबुझाएको र ऋण लगानी गर्दा संस्थाबाट धेरै रकम निकालेर ग्राहक सदस्यलाई थोरै रकम लगानी गर्ने गरेको आरोप छ ।

साधना लघुवित्त संस्थाबाट ग्राहक बनेका सदस्यलाई संस्थाबाट १० हजार लगानी गर्दा १ लाख लगानी गरिएको कागजात बनाई उनीहरुले ठगी गरेको बताइएको छ । ऋण लगानी गर्ने तर ग्राहकले प्राप्त गरेको भन्दा दोब्बरको कागजात बनाएर उनीहरुले ठगी गरेको संस्थाको दाबी छ ।

ग्राहकबाट उठेको रकम पनि संस्थालाई नबुझाएको पाइएपछि संस्थाकै उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले लघुवित्तमा आबद्ध दुई सय सदस्यको नाममा रहेको एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । पीडित र प्रहरी स्रोतका अनुसार उनीहरुले २१७ जना सदस्यको नाममा रहेको एक करोड २५ लाख ६५ हजार ७७० रुपैयाँ हिनामिना गरेका हुन् ।

ठगिनेहरुमा अधिकांश कालिगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाका महिला छन् । मुना गाह मगरले ७६ जना सदस्यका नाममा ४४ लाख ७९ हजार ५२८ रुपैयाँ हिनामिना गरेको संस्थाले प्रहरीमा दर्ता गरिएको जाहेरीमा उल्लेख छ ।

त्यस्तै कुमारी थापाले १४१ जनाको नाममा ७९ लाख ९५ हजार २४२ रुपैयाँ हिनामिना गरेको जनाइएको छ ।

उक्त घटनाको जाहेरी प्रहरीमा गत चैत २७ गते नै दर्ता भएको हो । २८ गते ती दुवैलाई प्रहरीले पक्राउ गरी १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकुमार प्रधानले बताए ।

गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले देशभर नै कार्यक्षेत्र बनाएको छ । उक्त वित्तीय संस्थाका कार्यकारी प्रमुख रेशम न्यौपानेले ती महिलाले योजनाबद्ध रुपमै ठगी गरेको दाबी गर्दै प्रहरीमा कारवाहीका लागि उजुरी गरिएको बताए । हिनामिना गरिएको रकम उठाउने प्रयासमा आफू लागेको उनको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप