आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

गाउँमा फालाफाल हुँदा पनि दूध आयात गर्न उद्योगीको जोड

किसान र उपभोक्ता दुवै मारमा
मङ्गलबार, ०५ वैशाख २०८०, २० : ३२
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । सरकारले दूधमा नेपाल आत्मनिर्भर भएको जनाउँदै आएको छ भने ग्रामीण भेगमा पशुपालक किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको छैन । यस्तो अवस्थामा उद्योगी व्यवसायी भने भारतबाट दूध आयातका लागि जोड दिँदै आएका छन् ।

डेरी उद्योगीले नेपालमा दूध अपुग भयो भन्दै भारतबाट ल्याउन पाउनुपर्ने मागसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका छन् । भारतको अमूल कम्पनीले नेपालमा लगानी गर्न लागेकोमा विरोध गर्ने डेरी उद्योगीहरूले भारतबाटै दूध ल्याउन कृषि मन्त्रालयलाई गुहारेका हुन् ।

नेपालका डेरी उद्योगीले एकातिर भारतको कम्पनीले नेपालको डेरी क्षेत्रमा गर्न खोजेको लगानीको विरोध गर्ने, अर्कोतिर देशमा दूध उत्पादन कम भयो भनेर भारतबाट दूध ल्याउन कृषि मन्त्रालयमा पटक पटक अनुमति माग गर्ने गरेका हुन् ।

२०७८ असोजमा पनि डेरी उद्योगीले एक महिनाका लागि दैनिक एक लाख ३० हजार लिटर दूध भारतबाट ल्याउन अनुमति लिएका थिए । ६ महिना कटेपछि फेरि दूध अभाव भयो भन्दै डेरी उद्योगीहरू मन्त्रालय धाउन सुरु गरेका थिए ।   

नेपालमा दूध पर्याप्त रहे पनि उद्योगीहरू आफ्नो स्वार्थका लागि भारतबाट दूध ल्याइरहेका छन् । भारतबाट दूध ल्याउँदा डेरी उद्योगीलाई दोहोरो फाइदा हुने गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघका महासचिव रिता बस्ताकोटीले नेपालमा दूध नपाएर भारतबाट ल्याउनुपर्ने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘गाउँका दूध नै उठाउन जाँदैनन् डेरी उद्योगीहरू, गाउँमा दूध सङ्कलन गरे जति पाइन्छ ।’ तर गाउँगाउँमा गएर दूध सङ्कलन गर्दा खर्च बढी लाग्ने भएकाले उनीहरू खर्च जोगाउन एकैपटक एउटै ठाउँबाट ट्याङ्करमा दूध ल्याउन चाहने गरेको उनको भनाइ छ । ‘यसो गर्दा उनीहरूको लागत सस्तो पर्छ र यहाँ महँगोमा बेच्न पाउँछन्,’ उनले भनिन् ।

पशु पालक किसानले उत्पादन गरेका दूध खरिद नगरी डेरी उद्योगीहरूले भारतबाट दैनिक एक लाखदेखि डेढ लाख लिटर दूध ल्याउन पहल सुरु गरेका छन् ।

तनहुँका किसान गोविन्द भण्डारीले भने, ‘दूध खोज्न किसानको घरमा जानुपर्छ नि, सहरसहर खोजेर मात्र कहाँ दूध पाइन्छ ?’ सिन्धुपाल्चोक, म्याग्दी, पाल्पालगायतका जिल्लामा किसानको दूध बिक्री नभएर आफैँले खपत गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

डेरीवालाले सुगममा मात्र दूध खोज्ने गरेको र त्यहाँ पाइएन भन्दै भारतबाट दूध ल्याउन खोज्ने गरेको किसानहरूको आरोप छ ।

भारतबाट दूध ल्याउँदा उद्योगीलाई मात्र फाइदा

भारतबाट दूध ल्याउँदा उद्योगीलाई मात्र फाइदा हुने सरोकारवाला बताउँछन् । भारतमा नेपालको तुलनामा सस्तोमा दूध पाइने, एकै ठाउँमा दूध पाउने भएकाले सङ्कलन गर्ने रकम पनि बचत हुने र भारतबाट ४–५ प्रतिशत एसएनपी भएको दूध आयात गरेर नेपाली उपभोक्तालाई तीन प्रतिशत एनएनपी भएको दूध बिक्री गरेर मुनाफा आर्जन गर्न सकिने भएपछि नेपाली उद्योगीहरू भारतीय दूधतर्फ आकर्षित भएका हुन् ।

यसरी भारतबाट दूध आयात गर्दा नेपालका ग्रामीण भेगमा रहेका पशुपालक किसान निरुत्साहित हुने, अर्कोतिर भारतबाट ल्याइएको दूधको मूल्यमा समेत उद्योगीकै एकाधिकार हुँदा उपभोक्ताले समेत महँगोमा किन्नुपर्ने अवस्था सिर्जना हुने सरोकारवालाको भनाइ छ ।

तर दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले भारतबाट दूध ल्याउँदा आफूहरूलाई महँगो परेको दाबी गर्छन् । ढुवानी खर्च, कृषि सुधार शुल्कजस्ता विभिन्न शुल्कले गर्दा भारतबाट दूध ल्याउँदा महँगो पर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले साँच्चै नै नेपालमा दूधको अभाव भएको छ, दूध नभएर डेरी नै बन्दा होलाजस्तो अवस्था भइसकेको छ, त्यसले गर्दा भारतबाट दूध ल्याउन कृषि मन्त्रालयलाई आग्रह गरेका हौँ ।’

घरघरमा खाने उपभोक्ताका लागि दूधको अभाव नभए पनि ठुला कारखानाका लागि अभाव देखिएको उनको भनाइ छ । बटर, धुलो दूध, चकलेट लगायतका लागि दूधको अभाव देखिएको डेरी उद्योगीहरू बताउँछन् ।

धुलो दूध बनाउनका लागि काँचो दूध आवश्यक पर्ने बताउँदै उनीहरूले सीमित अवधिका लागि दूध आयात गर्न माग गरेको र नेपालमा दूध पाउन थालेपछि आयात बन्द गर्ने बताइरहेका छन् ।

२०७७ को अन्तिममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यक्रम आयोजना गरी नेपाल दूधमा आत्मनिर्भर भएको घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुग्ध पदार्थमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेका थिए ।

तर त्यही बेलादेखि नै डेरी उद्योगीहरूले अभाव देखाएर पटकपटक आयात खुला गर्न लगाएर भारतबाट दूध ल्याउने गरेको देखिन्छ । यसपटक पनि मन्त्रालयमा पत्र पठाएर डेरी उद्योगीले झोल दूध, धुलो दूध, बटरलगायत दुग्धजन्य पदार्थ आयात अनुमतिको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप