आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

विपक्षी दलको नजरमा कस्तो रह्यो बागमती सरकारका सय दिन ?

बुधबार, ०६ वैशाख २०८०, १४ : ३५
बुधबार, ०६ वैशाख २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले १०० दिनभित्र केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरिरहँदा विपक्षी दलहरु भने सरकारको भूमिका नै नदेखिएको जिकिर गरिरहेका छन् । सरकार नागरिकको सेवामा भन्दा सत्ता समीकरणको जोडघटाउमा केन्द्रित भएको विपक्षी दलहरुको आरोप छ । सरकारका कारणले नै प्रदेश संरचनाको औचित्य पुष्टि गर्न समस्या भइरहेको उनीहरु बताउँछन् ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार गठनको सुरुवाती चरणमा केही परिवर्तनको प्रयास भए पनि पछिल्लो समय बदलिएको समीकरणले त्यसलाई अवरोध गर्ने काम गरेको बताए । सरकारले गरेका केही सुधारका प्रयासलाई वर्तमान सत्ता समीकरणले अवरोध सिर्जना गरेको उनको आरोप छ । ‘निर्वाचन पछि सरकार गठनले केही समय लियो । उक्त समयमा सरकार गठन प्रक्रिया छिटै भयो र सरकार गठनको १६ दिनमै हामीले मन्त्रिपरिषदलाई पूर्णता दिएका थियौं,’ उनले भने, ‘सो समयमा केही नयाँ कामको थालनी भएकै हो । प्रदेश सरकारको काममा केही सुधारका संकेत आएका थिए ।’

सरकारका आर्थिक मितव्ययिता, फजुल खर्चलाई घटाउने, सरकारका साझा कार्यक्रम ल्याएर केही सुधार गर्ने प्रयास आफूहरुले गरेको र त्यसको परिणाम पनि राम्रै देखिएको उनको दाबी छ । तर, पछि सत्ता समीकरण परिवर्तन हुँदा सरकारका कामको सकारात्मक बाटोलाई अवरुद्ध पार्ने काम भएको उनले बताए । उनका अनुसार सरकारमा एमाले रहँदा प्रदेश सरकारको विकास बजेट खर्चमा बढोत्तरी आएको थियो तर पछिल्लो समय बनेको सत्ता समीकरणले त्यसलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ ।

‘सुरुवाती चरणमा सरकारको कामको स्पिड बढेको थियो । विकास निर्माणका खर्चहरु पनि बढेको थियो । तर, पछिल्लो समय बनेको सत्ता समीकरणबाट त्यसको निरन्तरता हुन सकेको देखिँदैन,’ थपलियाले भने । राजनीतिक अस्थिरताका कारण सरकारले अझै पूर्णता पाउन नसकेको उनको टिप्पणी छ । राजनीतिक अस्थिरताका कारण सरकारको कार्यान्वयन संयन्त्रको रुपमा रहेका कर्मचारीहरुमा सुस्तता छाएको उनले बताए ।

उनले भने, ‘जति राम्रो हुनु पर्ने हो त्यो हुन सकेको छैन । एमालेले सरकारमा रहँदाको बखतमा लिइएको योजना र प्रयासबाट कर्मचारीहरुको कार्य क्षमताको स्पिड बढेको थियो । तर, पछिल्लो समय सरकारलाई पूर्णता दिने विषयमै अस्थिरता देखिएपछि उहाँहरुमा उदासिनता देखिन्छ ।’ सरकारले योजना कार्यान्वयनमा तीव्रता दिनुपर्ने, त्यसको अनुगमन, सार्वजनिक खर्चमा नियमन हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।

सरकार गठन ताका आम नागरिकमा देखिएको परिवर्तनको संकेतलाई राजनीतिक अस्थिरताका कारण सरकारले निराशामा परिणत गरेको उनले बताए । ‘सरकारमा ३ जना मन्त्रीमात्र रहने, अर्को समीकरणले समयमै मन्त्री नियुक्त गरेर सरकारमा प्रतिनिधित्व गर्न नसक्ने, दलीय भागबण्डा नमिल्ने जस्ता समस्याले कर्मचारीहरुमा पनि अलस्यता देखियो र देखिएका परिवर्तनको संकेत पनि निराशामा परिणत भयो,’ उनले भने ।

यता राप्रपाको बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारको ध्यान विकास निर्माण र नागरिकको सेवामा भन्दा बढी सत्ता प्राप्तिमा केन्द्रित रहेको बताए । उनले सत्ता र शक्तिमा प्रदेशका मुख्यमन्त्री आफै अल्झिदा नागरिकहरुको माग र मुद्दा ओझेलमा परेको बताए ।  ‘उहाँहरुले प्रतिवेदनमा त के के कुरा लेख्नु भयो होला । के उपलब्धि भएको छ र खै ? मैले त्यो प्रतिवेदन पनि हेर्न पाएको छैन । एउटा कुरा के भने आजसम्म सरकार पूर्ण भएको छैन । अहिले सत्ता समीकरण फेरबदलको काममात्र भएको छ,’ उनले भने ।

आर्थिक वर्षको अन्त्यमा आइपुग्दासमेत सरकारले काम गर्न नसकेको उनले बताए । उनले भने, ‘मलाई लाग्छ अब २÷३ महिनामा गरेको कामले ५० प्रतिशत पनि बजेट खर्च हुने अवस्था छैन ।’ प्रदेशको ११ मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्र मन्त्री रहेको र अन्य ५ मन्त्रालय मन्त्रीविहीन हुँदा प्रभावकारी काम हुन नसकेको उनको भनाइ छ । ‘यसले आगामी आर्थिक वर्षको बजेट र नीति कार्यक्रम बनाउन पनि समस्या हुने देखिन्छ,’ उनले भने, ‘यसले प्रदेश संरचनाको औचित्यलाई नै समस्यामा पारेको छ ।’

सरकारका गतिविधिले नै प्रदेश संरचना चाहिँदैन भन्ने प्रस्ट पारेको उनको दाबी छ । उनले भने, ‘त्यसैले हामीले भनिरहेका छौं– प्रदेश संरचनाको औचित्य छैन । प्रदेश सरकारले केही गर्न सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप