सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णाली कांग्रेसभित्रको कचकचले मुख्यमन्त्रीलाई तनाव !

जीवन शाहीले देउवाको फोन नउठाउँदा बबाल मच्चिएको हो : सांसद सिंह
बुधबार, ०६ वैशाख २०८०, १७ : ५५
बुधबार, ०६ वैशाख २०८०

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले एकलौटी गर्न खोजेपछि कांग्रेस भित्रको विवाद उत्कर्षका पुगेको छ । माओवादी नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी गराउनका लागि शाहीले मंगलबार एकलौटी तरिकाले विधान विपरीत मन्त्रीका लागि नाम पठाएको कांग्रेस भित्रको असन्तुष्ट पक्षको भनाइ छ । दलका नेता शाहीले सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्गबहादुर पोखरेल, जाजरकोट (क) बाट निर्वाचित सांसद बेदराज सिंह र दैलेखका कृष्णकुमार विसीलाई मन्त्री बनाउन मुख्यमन्त्री राजकुमार शर्मालाई सिफारिस गरेका थिए । 

अर्थमा सिंह, सामाविक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा विसीलाई सिफारिस भएका थिए । नाम प्राप्त भएपनि मुख्यमन्त्री राजकुमार शर्माले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने तयारी गरेका थिए । तर, एकाएक शपथ रोकिएको छ । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्रीबाट कुनै असहायोग नभएको र कांग्रेसभित्रकै विवादका कारण समस्या भएको हो । कांग्रेसभित्रको विवादले यतिबेला मुख्यमन्त्री शर्मालाई तनाव भएको छ । एकातिर कांग्रेस दलका नेता शाहीले मुख्यमन्त्रीलाई दबाव दिइरहेका छन् भने अर्कातिर कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको समेत दबाव खेप्नुपरेको छ । 

कांग्रेसभित्र विवादको प्रमुख कारण स्वयम् दलका नेता शाही रहेको कांग्रेस सांसद जानकी सिंहले बताइन् । सिंहले पार्टीको विधानअनुसार मन्त्रीमा नाम सिफारिस हुनुपर्ने तर त्यसो नभएकाले समस्या आएको बताइन् । ‘विधान त हेर्नुपर्यो नि,  प्रदेश कमिटीको निर्णय एकातिर भयो दलका नेताले अर्कोतिर चयन गर्दा विवाद आएको हो,’ सिंहले रातोपाटीसँग भनिन्, ‘केन्द्रमा चयन गर्दा देउवाले उपसभापतिज्यूको नेतृत्वमा सरकारमा पठाइयो.....! कर्णालीमा पनि प्रदेश पार्टी कार्यालयले त्यसरी नै पठाएको हो,  सबै सिनियर, महिला सहभागिता, पार्टीभित्र संगठनमा बसेको नबसेको त्यसको क्राइट एरिया बनाएर बहुमतले पारित गरिएको थियो । तर, दल नेताले एकलौटी तरिकाले जुनियरको टिमलाई मन्त्री मण्डलमा पठाउँदाखेरी विवाद आएको हो ।’ 

दलका नेता शाहीले सिफारिस गरेर पठाइएका खड्गबहादुर पोखरेल सुर्खेत जिल्ला सभापति हुन् भने सिंह जाजरकोट जिल्ला सभापति हुन् । यस्तै विसी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर हुन् ।  तर, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य राजिवविक्रम शाही, केन्द्रीय सदस्य जानकी सिंह लगायतका सांसदसँग शाहीले कुनै सल्लाह नै नगरी जुनियर नेताको नाम सिफारिस गरेको असन्तुष्ट पक्षको भनाइ छ । 

सिंहले भनिन्,‘ सिनियर साथीसँग कुनै सल्लाह नै गरिएन । एक पटक मिटिङ समेत गरिएन । मनोमानी तरिकाले पठाउँदा विवाद आएको हो ।’  शाहीले प्रदेशमा कसैले भनेको नमानेपछि असन्तुष्ट पक्षले देउवालाई फोनमार्फत मौखिक रुपमा प्रदेश पार्टीको विद्यानअनुसार नचलेको जानकारी गराएका थिए । ‘सभापतिको फोन समेत दलका नेताले (जीवन) उठाउनुभएन,’ सिंहले भनिन्,‘ पछि सिधै मुख्यमन्त्रीज्यूलाई नै फोन गरेर शपथ रोक्नुपर्ने बाध्यता भयो ।’

‘जीवन शाहीको मनोमानीले बबाल मच्चियो’

जीवन शाहीले सुरुमा सभापति देउवाको फोन नउठाएका कारण देउवा शाहीसँग रिसाएको एक नेताले बताए । पहिला शाहीले फोन नउठाएको र पछि मुख्यमन्त्री शर्मालाई फोन गेर रोक्नुपर्ने स्थिति आएपनि शाहीसँग देउवा रिसाएका हुन् ।  पछि शाहीले देउवालाई फोन गरेको बुझिएको छ । त्यो बेला देउवा रिसाएका थिए । सांसद सिंह दलका नेता विधानसम्मत नचलेकाले बबाल मच्चिएको बताउँछिन् । 

‘हामी केन्द्रीय सदस्य पनि थियौँ, कुनै छलफल भएन, मनोमानी तरिकाले पार्टी चलाउन खोजेपनि स्वभाविक रुपमा विवाद आएको हो,’ उनले भनिन्।

योसँगै कर्णालीमा मन्त्रिपरिषद बुधबार विस्तार हुन नसक्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप