सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

बुधबार, ०६ वैशाख २०८०, १८ : १५
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लबले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो । 

मच्छिन्द्र क्लबविरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो । यसअघि पहिलो मिनेटबाट दबाब दिएर खेलेको मच्छिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन । पाचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए । यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए । 

२८ औं मिनेटमा मच्छिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन । दुई मिनेटपछि मच्छिन्द्रले फेरि गोलको अवसर गुमायो । चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो । ४४ औं मिनेटमा  नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो । खेलमा एपिएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो । मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे । दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

लिग अन्तर्गत च्यासल मैदानमा पुलिसविरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो । यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत् रहेको छ ।

पहिलो मिनेटबाट नै पुलिसमाथि हाबी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो । हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पु¥याएका थिए । 

यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए । हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पु¥याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए । यससँगै जावलाखेल युथ क्लबले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत् छ । जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत् नै छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप