मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनका लागि दुई रङको मतपत्र, यसरी हुँदैछ तयारी

मङ्गलबार, २२ फागुन २०७४, ११ : १३
मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं–निर्वाचन आयोगले आउँदो फागुन २९ हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा २ रङको मतपत्र प्रयोग गर्ने भएको छ । 

संघीय संसद सदस्य मतदाताका लागि निलो र प्रदेश संसद सदस्य मतदातका लागि रातो रङको मतपत्र छाप्ने तयारी गरिएको आयोगका निर्वाचन संचालन शाखाका उपसचिव देशबन्धु अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

मतदाता संख्या अनुसार मतपत्र छाप्ने गरी तयारी भएको उनले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनका लागि प्रदेश सभाका तर्फबाट ५ सय ५० सदस्य छन् भने संघीय संसद अन्र्तगत प्रतिनिधीसभा मा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य गरी कुल ८ सय ८४ सदस्य रहेका छन् । 

राष्ट्रपतिको निर्वाचनका लागि केही सदस्य भने उपस्थित हुन नसक्ने भएका छन् । आयोगले सोमबार सार्वजनिक गरेको मतदाता नामावलीमा समावेश रहेका कैलाली क्षेत्र नं.२ का सांसद रेशम चौधरी हाल थुनामा रहेका छन् भने मनाङबाट निर्वाचित राजिव गुरुङ उर्फ दीपक मनाङ्गेको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । 

मतगणना २९ गते ४ बजे 
राष्ट्रपतिको निर्वाचनका लागि आयोगले नयाँ बानेश्वरको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यालय संचालनमा ल्याइसकेको छ । कार्यालय सहयोगी सहित १३ कर्मचारी निर्वाचनका लागि खटिएका छन् । सोमबार मतदाता नामावली प्रकाशन गरेको आयोगले २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछ । सोही दिन दिउसो ३ बजे उम्मेदवारको सुची प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । 
२४ गते दिउसो २ बजेसम्मका लागि उम्मेदवारमाथि उजुरी, दावी बिरोध परेमा छानविन गरी दिँउसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । सोही दिन उम्मेदवारले आफ्नो उम्मेदवारी पनि फिर्ता लिन सक्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत तिल प्रसाद श्रेष्ठले जानकारी दिए । 

२९ गते बिहान १० देखि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ भने ४ बजेदेखि मतगणना शूरु गरिने आयोगले जनाएको छ । 

राष्ट्रपतिको उम्मेदवार छान्न दलहरु अन्तिम कसरतमा 
बाम गठबन्धनको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिका वर्तमान राष्ट्रपति बिद्या भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार खडा गर्ने भन्नेमा एमालेमा छलफल चलिरहेको छ । एमालेका पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिका लागि आकांक्षा देखाएका छन् । राष्ट्रपतिको उम्मेदवार छान्नका लागि आज दिउसो एमाले स्थायी समितीको बैठक बस्दैछ । यता नेपाली कांग्रेसले पनि उम्मेदवारको टुङ्गो लगाउन छलफल थालेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप