आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वायु प्रदूषण

प्रदूषित हावाले मानव स्वास्थ्यमा कस्तो पार्छ तत्कालीन र दीर्घकालीन असर ?

वायु प्रदूषण उच्च भएकाले मर्निङ, इभनिङ वाक नगरौंः छातीरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ
बिहीबार, ०७ वैशाख २०८०, १२ : ४३
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुमण्डल एक साता यता धुम्मिएको छ । वायु प्रदूषण उच्च देखिएको भन्दै चिकित्सकहरूले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । नेपालका विभिन्न स्थानमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) मापन गर्दा बुधबार दिउँसोसम्म पनि निकै प्रदूषित थियो । 

बुधबार साँझ ६ बजेसम्म काठमाडौंमा एक्यूआई १७९ मापन गरिएको थियो । उक्त अङ्कले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउँछ । कचौरा आकारमा रहेकाले भौगोलिक बनोटका आधारमा काठमाडौँ उपत्यका वायु प्रदूषणका दृष्टिले उच्च जोखिम छ । 

यसरी बेला बेला हुने उपत्यका सहितका क्षेत्रमा वायु प्रदूषणले स्वास्थ्य अल्पकालीन र दीर्घकालीन गम्भीर खालका असर पुर्‍याउने वीर अस्पतालका उपनिर्देशक तथा छातीरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले वीर अस्पतालको छाती विभागको सघन उपचार कक्षमा छाती रोगीहरू बढेका छन् ।  

यस समयमा ओपिडीमा आएका दमका बिरामीले सेवन गरिरहेको औषधिको मात्रा बढाउनु परेको उनले बताए । उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदूषणका कारण विश्वमा एक वर्षमा करिब ७० लाख मानिसको ज्यान जाने गर्छ । 

prajwal shrestha

उच्च जोखिममा को छ ? 

वायु प्रदूषणको उच्च जोखिममा बालबालिका, ज्येष्ठ नागरिक, दमरोगी, मुटु रोगका बिरामीहरू, क्यान्सर रोगी, वाथरोगी हुने गर्छन् । वायु प्रदूषणका कारण निम्न समस्या  देखिन सक्ने डा. श्रेष्ठ बताउँछन् ।

–ब्लड प्रेसर कन्ट्रोलभन्दा बाहिर जाने ।

–हृदयाघात हुने ।

–मष्तिकघात हुने ।

–दम रोग बढ्ने ।

–छातीको रोग बढ्ने ।

–दमरोगी अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने ।

वायु प्रदूषणका कारण तत्काल देखिने असर  

–वायु प्रदूषण उच्च भएको समयमा हिँड्दा घाँटी खसखस हुने ।

–खोकी लाग्ने ।

–आँखाहरू पोल्ने, बिझाउने ।

–नाक पिरो हुने ।

–थोरै काम गर्दा पनि चाँडै थकान महसुस हुने ।

–टाउको दुख्ने ।

–इरिटेसन हुने ।

वायु प्रदूषणका कारण हुने दीर्घकालीन असर

–धुप्रपान नगरिकन पनि लाग्ने रोगहरू देखिने । 

–फोक्सोको क्यान्सर, पेटको क्यान्सर, छालाको क्यान्सर, प्यानक्रियाजको क्यान्सर उच्च हुने । 

वायु प्रदूषणबाट बच्ने उपाय

वायु प्रदूषण भएका बेलामा उच्च जोखिम रहने हुँदा दीर्घरोगी सकेसम्म घरबाहिर निस्कन नहुने छाती रोग विशेषज्ञ डा श्रेष्ठ बताउँछन् । 

कोरोना महामारीमा कोरोना भाइरस (कोडिभ–१९) का लागि सामान्य सर्जिकल मास्क लगाए पनि हुन्छ भनिएको थियो । तर, वायु प्रदूषण बढ्दा वायु मण्डलको हावा दूषित हुने भएकाले घर बाहिर हिँडडुल गर्दा एन ९५ मास्कको प्रयोग गर्न उनको सुझाव छ । 

त्यस्तै हाल वायु प्रदूषण उच्च भएकाले बिहान बेलुका मर्निङ, इभनिङ वाक गर्नु हुँदैन । अहिले दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिकलाई घाँटी खसखस हुने, खोकी लाग्ने भएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

जब जब वायु प्रदूषण उच्च हुन्छ, तब मात्र हल्लाखल्ला बढी हुने डा. श्रेष्ठको गुनासो छ । जलवायु परिवर्तन र चैत, वैशाखमा वनमा लगाइएको डढेलोका कारण काठमाडौँसँगै नेपालभर वायु प्रदूषित हुने गर्छ । 

यस्तै, सहरी क्षेत्रमा फोहोर बाहिर राख्ने, फोहोर जलाउने, इलेक्ट्रिक सवारी साधन भन्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई प्रोमोट गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाई छ ।

सरकारले वायु प्रदूषण उच्च भएका बेलामा धुवाधुलोबाट बच्न, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई कम चलाउन आग्रह मात्रै नगरेर वायु प्रदूषण बारे दीर्घकालीन सोच बनाइ अघि बढ्नुपर्ने छाती रोग विशेषज्ञ डा.श्रेष्ठ बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप