आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहरी क्षेत्रमा ४० प्रतिशत सटरहरु खाली

बिहीबार, ०७ वैशाख २०८०, १४ : ५३
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खालि भएका छन् । 

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यावसायिक सटर तथा गोदामहरु धमाधम खालि हुन थालेका हुन् । 

बजारमा देखिएको बैंकिङ तरलताको कारण व्यापार व्यवसाय उत्साहजनक छैन । उनीहरुले मुख्य सहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए । व्यवसायीहरुले आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा व्यवसायीहरुले पसल नै बन्द गरेर बस्न बाध्य भएको बताए । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएको बताए ।   

उनले व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटरहरु खालि हुने अवस्था आएको बताए । उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्यून रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।   

पूर्वअध्यक्ष कटुवालले घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो गरे । उनले प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको बताए । उनले प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोले पनि व्यवहारमा ल्याउन नसकेको उल्लेख गरे । 

उनले सरकारले निजी क्षेत्रलाई अनूकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको बताए । उनले लगातार रूपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी भएको बताए । 

उनले १०० जना व्यवसायीहरुको हातमा मुलुकको अर्थतन्त्र रहेको भन्दै उनीहरुको हातमा बैंक,लघुवित्त,बीमा कम्पनी, ठूला उद्योग, राजनीतिक दल र सरकारलाई मुठीमा हुँदा समस्या रहँदै आएको बताए ।  

चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेका छन् । 

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर हरेक घरमा देखिन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप