आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बारा–२ उपनिर्वाचन

बारा–२ : गठबन्धन र नेकपा एमालेका लागि प्रतिष्ठाको लडाइँ

जनमत र रास्वपाको कडा चुनौती
बिहीबार, ०७ वैशाख २०८०, २३ : ०४
बिहीबार, ०७ वैशाख २०८०

मकवानपुर । बारा–२ को उपनिर्वाचन सत्ता गठबन्धन र नेकपा एमालेका लागि प्रतिष्ठा बनेको छ । विगतमा सो क्षेत्रमा चुनाव जित्दै आएको जसपा अहिले सत्ता गठबन्धनको आडमा चुनावी मैदानमा रहेको छ । यस्तै नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।

मुख्य दुई ठुला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ पाएको जसपाका अध्यक्ष उपन्द्र यादव कुनै पनि हालतमा सो क्षेत्रमा चुनाव जित्न चाहन्छन् । संसद छिर्ने तीव्र महत्वाकांक्षाका साथ चुनावी अभियानमा होमिएका यादवलाई लोसपाको पनि सहयोग छ । एमाले विभाजन पछि बनेको एकीकृत समाजवादीले पनि अध्यक्ष यादवलाई नै सघाएको छ ।

यता बलियो संगठनको आडमा पूर्वमन्त्रीसमेत रहेका एमालेका पुरुषोतम पौडेल उम्मेदवार छन् । उनी एमालेको सांगठनिक मतको आडमा चुनाव जित्ने दाउमा देखिन्छन् । दुबैले बारा २ लाई प्रतिष्ठाको विषय बनाएर बिहीबारसम्म निर्णायक प्रचारप्रसारमा होमिए ।

तर, यी दुईलाई अहिले जनमत पार्टी र रास्वपाका उम्मेदवारले चुनौती दिइरहेका छन् । बारा–२ मा  हालै स्थापना भएको सिके राउत नेतृत्वको पार्टी जनमत र रवि लामिछाने नेतृत्वको पार्टी रास्वपाको पनि उस्तै क्रेज देखिन्छ । जनमनको केज गाउँदेखि शहरसम्म फैलिएको छ भने रास्वपाको पनि आफ्नै प्रकृतिको लोकप्रियता रहेको छ ।

रास्वपाका उम्मेदवार रमेश खरेलको व्यक्तिगत छवि छ । जसको प्रभाव चुनावमा देखिएको छ । । पूर्वडिआइजी खरेलले एसपीका रुपमा कार्यरत रहँदा पर्सा, धनुषा लगायतको जिल्लाको कमाण्ड सम्हाले । त्यतिबेला उनले थुप्रै सकारात्मक काम गरेको बुझाई सो क्षेत्रमा नागरिकहरुमा रहेको पाइन्छ ।

त्यस्तै मधेसका मुद्दा बोकेर सक्रिय राजनीतिमा होमीएका जनमतका अध्यक्ष राउतको व्यक्तिगत छविको मत बारा–२ मा प्रशस्त पाइन्छ । सो दलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्व नेता एवम् संविधानसभा सदस्य शिवचन्द्र कुशुवाहको पनि उस्तै प्रभाव छ ।

विशेषगरी बारा–२ सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतान्तरले पराजित भएका  उपेन्द्र यादव चुनौतीमा देखिन्छन् । यादवलाई रोक्न सिके राउत करिव १ महिनादेखि बारामै खटिएका छन् । निर्वाचनको माध्यमबाट नयाँ पार्टीको रुपमा उदाएको जनमत पार्टीले जनतालाई जोड्ने खालको एजेण्डा अघि बढाएको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, युवाहरुलाई रोजगारी, किसानको लागि सिंचाई तथा कृषि बिमा लगायतको कार्यक्रम ल्याएका राउत नेतृत्वको पार्टीले चुनाव जिते केही गर्ने र एकपटक नयाँ पार्टीलाई हेर्न ईच्छा भएको धारणा कतिपय मतदातामा देखिन्छ ।

सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवका निकटतम् प्रतिष्पर्धी रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा गएको मंसिर ४ गते भएको निर्वाचनमा ३५४ मतान्तरले पराजित भएका थिए । तत्कालिन कांग्रेस सहितको सत्ता गठबन्धन उम्मेदवार रहेका कुशवाहाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएर १३ हजार ५८६ मत ल्याएका थिए । जनमत पार्टीले मंसिर ४ को निर्वाचनमा समानुपातिक तर्फ ८ हजार ८४६ मत पाएको थियो ।

जनमतसँगै रास्वपामा देखिएको क्रेज तथा जसपा र एमालेका उम्मेदवारले उपनिर्वाचनको प्रतिष्ठा बनाएको अवस्थामा बारा २ को नतिजा रोचक बन्ने निश्चित छ । यसैबीच  अन्तिम करसतस्वरुप बिहीबार बारा–२ मा सत्ता गठबन्धन र एमालेले चुनावी सभा आयोजना गरे । नयाँ दुई दलको चुनौतीका बीच सत्ता गठबन्धन र एमालेले शीर्ष नेताहरुलाई मैदानमा उतारेर चुनावी सभाा गरियो  । बारा–२ मा आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दलहरुले प्रचार प्रसारको अन्तिम दिन चुनावी सभा सम्पन्न गरेका हुन् ।

५ दलीय सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको महागढी नगरपालिकाको गढीमाई मन्दिर परिसरमा र  एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाराको पचरौता गाउँपालिकामा चुनावी सभा गरिएको थियो । सत्ता गठबन्धन र एमालेले शक्ति प्रदर्शनका लागि चुनावी सभा गरिरहदाँ जनमत र रास्वपाले भने मतदाताको घरघरमै पुगेर मत मागेर बिताए ।

सत्ता गठबन्धनको बाराको महागढीमाईमा भएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताए । उनले गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पनि पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । विद्युतीय सिञ्चाइँ प्रणालीमार्फत् सिञ्चाईंको व्यवस्था गरिने उनले बताए । नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या  भएकाले सोको दीर्घकालीन रूपमा समाधान गरिने उनले बताए ।

बारा–२ को चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताए । ओलीले कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताए । सन्ठी जोडेर बनेको म्यादी सरकार आफैं ढल्ने भन्दै उनले यो सरकारलाई एमालेले हात नलाउने बताए ।

उनले सरकारलाई केही दिनको मेहमान मात्र भएको पनि बताए । ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको दावी गरे । विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने उनको भनाई थियो ।

उनले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताए । देशको ढुकुटीबाट बाटो बनाउन पुग्ने भए पनि त्यो कामै नगरेको उनको आरोप छ ।  गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप