आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो

शुक्रबार, ०८ वैशाख २०८०, १७ : ०५
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको एइपीए फिल्टरबाट बनेको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले मन्त्रालयको  मूलद्धारमा राखिएको एक जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको बताए ।

विश्व स्वास्थ्य दिवसको अवसर पारी २०७९ चैत्र २४ (२०२३ अप्रिल ७) मा मन्त्रालयको मूल ढोकामा फोक्सो जडान गरिएको थियो । कृत्रिम फोक्सोको अवस्थाबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । ‘छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ’, प्रवक्ता अधिकारीले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँका सामुदायिक विद्यालयका विद्यार्थीहरूले वायु प्रदूषणले फोक्सोमा पार्ने असरबारे जानकारी दिन र परीक्षणद्वारा उनीहरूको फोक्सोको जाँच गरी सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरी मन्त्रालयमा कृत्रिम फोक्सो जडान गरिएको स्थानबाट निकालिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोको साथै घर, रेस्टुरेन्ट तथा होटेल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदि प्रयोग हुनु रहेको छ ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याहरूका साथै हृदयाघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ । प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भइनसकेकोले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्छ । वायु प्रदूषणबाट बाँच्न तत्काल  मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहने, विद्युतीय चुलो र सवारी साधनको प्रयोग गर्ने, फोहोर नजलाउने जस्ता कार्य गर्ने डा. अधिकारीको आग्रह छ ।

health-ministry

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप