सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

गर्मी सुरु भएसँगै डेंगुका बिरामी बढ्छन् ?

शनिबार, ०९ वैशाख २०८०, १४ : १५
शनिबार, ०९ वैशाख २०८०

काठमाडौं । नेपालमा गत वर्षदेखि डेंगु सङ्क्रमण पुष्टि हुने दर रोकिएको छैन । गत वर्ष डेंगुले प्रकोपको रुप लिएपछि हालसम्म सङ्क्रमण दर शून्यमा झर्न नसकेको हो । पुस महिना यता ५०१ जनामा डेंगु संक्रमण देखिएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

५२ जिल्लामा डेंगु संक्रमित पाइएको छ । सामान्यतया डेंगु सङ्क्रमण जेठ महिनादेखि बढ्ने भनिए पनि जाडोमा समेत सङ्क्रमण शून्यमा झर्न नसकेपछि अब गर्मी सिजनमा यसले कस्तो रुप धारण गर्ला भन्नेमा चिन्ता बढाएको हो ।

पछिल्लो समय पुष्टि भएका केसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २१० जनामा संक्रमण देखिएको छ । यस्तै, बागमती प्रदेशमा १४३, लुम्बिनी प्रदेशमा ५६, कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा ४० र कर्णाली प्रदेशमा ५ जनामा संक्रमण देखिएको इडीसीडीले जनाएको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । गएको वर्ष भने १९ वर्ष यताकै उच्च सङ्क्रमण पुष्टि भएको थियो । २०२२ मा ५४ हजार ७८४ जनामा सङ्क्रमण देखिएको इडीसीडीको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष सबैभन्दा बढी काठमाडौं जिल्लामा १२ हजार ६५२ जना सङ्क्रमित थिए भने दोस्रोमा ललितपुरमा ८ हजार ८७६ जना सङ्क्रमित भेटिएका थिए ।

डेंगुका कारण सन् २०२२ मा ८८ जनाको ज्यान गएको थियो । डेंगु सङ्क्रमितको संख्या १० जिल्लामा बढी देखिएको छ ।

सरकारको तयारी

इपीडीमीयोजोली तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुको केस फाट्टफुट्ट देखिए पनि बढ्न नदिनका लागि तयारी थालिएको सुनाए । डेंगु बढ्न नदिनका लागि इडीसीडीले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला असपताल, स्थानीय तहलाई सावधानी अपनाउन करिब एक महिना अघि नै पत्राचार गरिसकेको उनको भनाइ छ ।

जहाँजहाँ बढी सङ्क्रमित देखिएका छन्, त्यहाँ केन्द्रले समन्वय गरिरहेको डा. दाहालले बताए । केन्द्रबाट डेंगु पीसीआर, एनएस वान, आईजीजी एण्ड आइजिएम एन्टिबडी टेस्ट परीक्षणका लागि माग अनुसार किट पठाइएको इडीसीडीले जनाएको छ ।

अघिल्लो वर्ष केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा सङ्क्रमण ह्वात्तै बढेको थियो । डेंगु पुष्टि भएका स्थानमा केन्द्रदेखि स्थानीय सरकारसम्मले बेवास्ता गर्दा सङ्क्रमण ७७ वटै जिल्लामा देखिएको थियो ।

यस्तै, पछिल्लो समय जलवायु परिवर्तनसँगै यातयातको सुविधा, लामखुट्टेको आनीबानी परिवर्तनले हिमाली तथा उच्च हिमाली जिल्लामा समेत डेंगु सङ्क्रमण देखिन थालेको छ । 

१० वर्ष यता डेंगुको अवस्था

दश वर्ष यताको आंकडालाई केलाउँदा डेंगु सङ्क्रमण कुनै वर्ष घटी र कुनै वर्ष बढी रहेको पाइन्छ । सन् २०१४ मा ३५६ वटा केस देखिँदा २०१५ मा १३५ केस पुष्टि भएको थियो ।

यस्तै, २०१६ मा एक हजार ५ सय २७ जनामा सङ्क्रमण पुष्टि भयो । २०१७ मा २ हजार १ सय ११ जना, २०१८ मा ८११ जनामा डेंगु पुष्टि भयो ।

२०१९ मा डेंगुको सङ्क्रमण दर ह्वात्तै बढेर १७ हजार ९९२ जनामा देखिएको थियो । त्यसपछि दुई वर्षसम्म सङ्क्रमण दर बढेन । २०२० मा ५३० वटा केस देखिएको थियो भने २०२१ मा ५४० जनामा पुष्टि भयो ।

२०२२ मा भने डेंगु ५४ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको थियो । विगतका आँकडालाई केलाउँदा आउँदा दिनमा डेंगुले प्रकोपको रुप लिने सम्भावना देखिन्छ । तर, केही पकेट क्षेत्रमा सङ्क्रमण दर बढ्न सक्ने इडीसीडीको अनुमान छ ।

लामखुट्टेले टोक्नासाथ डेंगु हुन्छ ?

डेंगु रोग सरुवा रोग हो । यद्यपि डेंगु हालसम्म मान्छेबाट मान्छेमा सरेको भने छैन । डेंगु रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोइकाबाट सर्छ । यी लामखुट्टेले उज्यालोमा अर्थात् दिनमा टोक्ने गर्छन् ।

यी  लामखुट्टेले टोकेका १०० जनामध्ये १० जनामा लक्षणसहित स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् । डेंगु एक प्रकारको भाइरल इन्फेक्सन भएकाले टोकेको ४ देखि १० दिनमा लक्षण देखापर्ने गर्छ ।

डेंगुका कारण बिरामी भएपछि शरीरमा हुने प्लेटलेट्स १० हजारभन्दा कम भएमा स्वास्थ्यमा समस्या देखिन्छ । त्यसैले डेंगु रोगबाट बच्नका लागि स्वास्थ्य तथा मन्त्रालयले निम्त सुझाव दिएको छ ।

–पूरा बाहुला भएको लुगा लगाउने

–झुलभित्र मात्र सुत्ने

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल

 मर्मत गर्ने

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप