आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौन अवधिमा जनमत पार्टीले फर्जी मतपत्र बाँडेको जसपा र एमालेको आरोप

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी
शनिबार, ०९ वैशाख २०८०, १६ : २८
शनिबार, ०९ वैशाख २०८०

बारा । बारा–२ मा आइतबार हुने उपनिर्वाचनका लागि सीके राउत नेतृत्वको जनमत पार्टीले मौन अवधिमा आफ्नो पार्टीको मात्रै चुनाव चिन्ह राखेर फर्जी मतपत्र बाँडेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालले आपत्ति जनाएको छ ।

जनमत पार्टीले  कानुनको ठाडो उलघंन गर्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिएको नमुना मतपत्रको ठाउँमा नक्कली मतपत्र खडा गरेर त्यसमा आफ्नो उम्मेदवार शिवचन्द्र कुशवाहाको तस्बिर समेत राखेर मतदातालाई भ्रमित पार्ने काम गरेको जसपा र एमालेको भनाई छ ।  

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई भ्रमित पार्ने उद्देश्यले जनमत पार्टीले आफ्नो मात्रै चुनाव चिन्ह्र राखेर नमुना मत बाँडेको भन्दै आपत्ति जनाए । ‘नमुना मतपत्रमा सूर्य र छाता चुनाव चिन्ह छैन्, मुख्य पार्टीको चुनाव चिन्है नराखेर नक्कली मतपत्र बाँड्न पाइन्छ ?’ एमाले उम्मेदवार पौडेलले भने ‘निर्वाचन कार्यालयले यसमाथि तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ ।’

यता जनता समाजवादी पार्टी जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादवले पनि जनमत पार्टीले तल्लो स्तरमा झरेर चुनाव प्रचारप्रसारमा लागेको आरोप लगाएका छन् । ‘जनमत पार्टीले आफ्नो मात्रै चुनाव चिन्ह र उम्मेदवारको फोटो हालेर गाउँ गाउँमा लाखौँ लाख मतपत्र बाँडेको छ, यस्तो फर्जी काम गर्ने उम्मेदवारको तत्काल उम्मेदवारी खारेज हुनुपर्छ’ जसपा मधेस प्रदेश अध्यक्ष यादवले भने ‘उहाँले निर्वाचन आयोगलाई नै च्यालेन्ज दिने काम गर्नुभएको छ।’

बारा २ मा आइतवार हुने उपनिर्वाचनका लागि २४ जना स्वतन्त्र सहित ३४ जनाले  उम्मेदवारी दिएका छन् । जसमध्ये आधा दर्जन उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा छन् भने बाँकी आफ्नो पार्टीको मुख्य उम्मेदवारलाई जिताउन खडा भएका ‘डमी उम्मेदवार’ रहेको निर्वाचन कार्यालयले जनाएको छ । जनमत पार्टीले निर्वाचन आयोगले दिएको मतपत्र विपरीत आफूखुसी बनाएको फर्जी मतपत्रमा जसपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह छैन ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले गत साता नै उम्मेदवारहरूलाई मोबाइल, हेलमेट, ढल्केको छाता, कप प्लेट, घण्टाघर, पिँध भएको सादा ढकिया, मौरी, मुढा, पुतली, ज्याकबल, क्यामेरा, खरायो, टेलिभिजन, कैँची, सूर्य, कुखुराको भाले, चापाकल, खाम मालद, नरिवल, हाते आरा,टायर , माछा, ग्याँसचुलो हलो,महिला, ट्रक, हर्न, ,घण्टी, लाउड स्पिकर लगायत चुनाव चिन्ह प्रदान गरिसकेको थियो ।

339819268_1445301712673872_2175933983118197628_n

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले आयोगले दिएको नमुनापत्र विपरीत आफूखुसी मतपत्र छापेर बाँड्नु गलत भएको बताए । ‘गलत भएको छ, यो विषयमा हाम्रो ध्यानाकर्षण भएको छ’ खरेलले भने ।

जनमत पार्टीले आफ्नो उम्मेदवारको तस्बिर सहित बनाएको फर्जी मतपत्रको विषयमा मुख्य निर्वाचन  अधिकृतको कार्यालयमा उजुरी समेत परेको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले कार्यालयमा परेको उजुरीमाथि छानबिन भइरहेको बताए। 

यता जनमत पार्टीका एक केन्द्रीय सदस्यले भने  निर्वाचनमा आफ्नो पार्टीको प्रचारप्रसारमा आफ्नो उम्मेदवारको चुनाव चिन्ह र उम्मेदवारको प्रचारप्रसार गर्नु स्वाभाविक र सामान्य भएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप